सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

त्रि.वि.मा बेथिति, तलव सरकारी, काम निजीमा

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीदेखि प्राध्यापक–कर्मचारीसम्म लापरबाही र अनियमिततामा संलग्न पाइएका छन् । राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको अध्ययनले यस्तो तथ्य औंल्याएको हो ।

केन्द्रको प्रतिवेदनअनुसार प्राध्यापकहरू सरकारी सेवासुविधा लिए पनि त्रिविका क्याम्पसमा पढाउँदैनन् । उनीहरू हाँजिर गरेर निजी कलेज र व्यक्तिगत काममा धाउँछन् । यसैकारण पठनपाठन प्रभावित भएको छ ।

सातामा १२ देखि १५ कक्षा पढाउनुपर्ने प्राध्यापकले ३/४ वटा कक्षा मात्रै लिइरहेको प्रतिवेदनले देखाएको छ । सातामा स्नातक तहलाई २४ र स्नातकोत्तरलाई २१ पिरियड पढाउनुपर्ने प्रावधान हटाएर क्रमश; १५ र १२ मा झारिएको थियो ।

सेमेस्टरमा १२ र ९ पिरियड पढाउनुपर्ने व्यवस्था छ । स्थायी प्राध्यापकको कार्यभार घटाउँदै जाने र अस्थायी र करारमा नियुक्ति बढाउँदा त्रिविलाई आर्थिक भार थपिँदै गएको केन्द्रले औंल्याएको छ । त्रिविमा ७ हजार ९ सय २० प्राध्यापक छन् । तीमध्ये १ हजार ४ सय १० जनाले अन्य निकायमा अध्यापन गर्न अनुमति लिएका छन् ।

सेवा आयोग फेल भएका शिक्षक, कर्मचारीसमेत म्याद थपेर बसिरहेका छन् । प्रतिवेदनमा भनिएको छ–‘अस्थायी र करारमा नियुक्त शिक्षक, कर्मचारी सेवा अयोगको परीक्षामा असफल भएका पनि म्याद थप गरी कार्यरत छन । म्याद थप गर्न नसकिने कानुनी प्रावधान पालना भएको छैन ।’

२०/२५ वर्षअघिका प्राध्यापकले दिएको राजीनामा अझै स्वीकृत नगरिएकाले रिक्त दरबन्दीसमेत यकिन हुन सकेको छैन । केन्द्रको ४ सदस्यीय टोलीले केन्द्रीय कार्यालयसहित विज्ञान संकाय, अमृत साइन्स क्याम्पस, त्रिचन्द्र क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनुसन्धान गरेको थियो ।

विश्वविद्यालयले आफैंले बनाएको शैक्षिक क्यालेन्डर पालना नहुँदा विद्यार्थी भर्ना, नतिजा प्रकाशन लगायत गतिविधि प्रभावित छन् । कर्मचारी, शिक्षक नियुक्तिको क्यालेन्डर अहिलेसम्म बनेकै छैन । बजेटमा समेत आर्थिक अनियमितता र लापरबाही देखिएको प्रतिवेदनमा उल्लेख छ ।

स्वीकृत कार्यक्रमभन्दा मनपरी खर्च गरिएको केन्द्रको दाबी छ । आवश्यक सामग्रीसमेत खरिद योजनाअनुसार किनिएको छैन । प्रतिवेदनमा भनिएको छ–‘लेखा परीक्षण समयमा हुने गरेको छैन, पेस्की पछ्र्योट पनि हुन सकेको छैन । खरिद योजना तथा खरिद एकाइबिनै सामग्री किनेर आर्थिक ऐन/नियमको उल्लंघन गरिएको टोलीको ठहर छ ।

क्याम्पसको भौतिक संरचना जीर्ण रहेको प्रतिवेदनको निचोड छ । टोलीले ल्याब, कक्षाकोठा, डेस्क बेन्च समयानुकूल नभएको र सरसफाइको अवस्था अत्यन्तै कमजोर भएको पाएको छ । सतर्कता केन्द्रका अनुसार विज्ञान तथा प्रविधि अध्ययन संस्थान, इन्जिनियरिङ संस्थान, त्रिचन्द्र र अमृत क्याम्पसको प्रयोगशाला जीर्ण र सामग्री पुराना छन् ।

यी क्याम्पसका शिक्षक अध्ययन र स्वाध्ययन बिदामा बस्दा पढाइमा बाधा पुगेको प्रतिवेदनमा उल्लेख छ । त्रिचन्द्रका १० उपप्राध्यापक अध्ययन बिदामा छन् । क्याम्पसले सेवा अयोगलाई जानकारी नदिई १ सय ५० जनालाई शिक्षण सहायक करारमा नियुक्त गरेको प्रतिवेदनमा उल्लेख छ ।

अमृत क्याम्पसका ५३ जनाले अन्य निजी शिक्षण संस्थामा अध्यापन गर्न अनुमति लिएका छन् । यसबाहेक १० जना प्राध्यापक स्वध्ययन बिदामा छन् । क्याम्पसले नियमविपरीत विभिन्न संगठनलाई २ लाख ५८ हजार सहायता दिएको, विभिन्न शीर्षकमा पेस्की पछ्र्योट नगरेको, पेस्की दिएको रकमको स्रोत नखुलेको प्रतिवेदनमा उल्लेख छ ।

पुल्चोक क्याम्पसले २०४९ देखिका ३६ राजीनामा अझै स्वीकृत गरेको छैन । केन्द्रका अनुसार क्याम्पसले ३ करोड ९४ लाख पेस्की पछ्र्योट गरेको छैन । त्यस्तै निकासाभन्दा ६ लाख बढी रकम खर्चिएको भेटिएको छ । त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले केन्द्रले गरेको अध्ययनबारे अनभिज्ञता प्रकट गरेका छन् ।

प्राध्यापकहरूले विश्वविद्यालयमा असर नपर्ने गरी अन्यत्र काम गर्न अनुमति पाउने उनले बताए । उनले भने–‘समग्रमा त्रिविमा बेथिति छैन, कुनै निकायमा बेथिति भए मिडियाले सार्वजनिक गर्दा कुनै आपत्ति हुँदैन । कक्षा नभएकै कारण प्राध्यापकहरूले तोकिएभन्दा कम पिरियड पठनपाठन गराएको भन्दै उप्रेतीले बचाउ गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्