सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

डोल्पा जिप दुर्घटनामा ज्यान गुमाउनेको पुर्ण विवरण

डोल्पास्थित ठूलीभेरी नगरपालिका–९ को कालागौँडा नजीकै बतासे वडारमा १० जनाको ज्याने गरी आज भएको जीप दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । डोल्पा सदरमुकाम दुनैबाट त्रिपुरा जान लागेको भे १ च १६१० नम्बरको बोलेरो जीप दिउँसो ठूलीभेरी नदीमा खसेको थियो ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४५ वर्षीय हेमराज हमाल, १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिँह कठायत, २५ वर्षीय शेरबहादुर थापा, सोही नगरपालिका–२ की १३ वर्षीया अस्मिता रोकाय, सोही नगरपालिका–३ का ४५ वर्षीय बुध धराला रहेका छन् ।

त्यसैगरी सोही नगरपालिका–५ का १२ वर्षीय याम रोकाय, २४ वर्षीय कुमार रोकाय, ठूलीभेरी नगरपालिका–५ का ३० वर्षीय भद्र रोकाय र १७ वर्षीया मनिषा धराला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अभदेश बिष्टले जानकारी दिएका छन् ।

दुर्घटनामा परी घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ का नन्दबहादुर थापा र सोही नगरपालिका–३ का चालक दिनेश बोहरा रहेका छन् । घाइते बोहराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै जिल्ला अदालतमा कार्यरत अमिना बुढामगर नदीमा बेपत्ता रहेको प्रहरीले जनाएको छ । चलानीमा १२ यात्रु उल्लेख रहेपनि बुढामगर बीच बाटोबाट चढेको प्रहरी अनुमान छ । उनको झोला र चप्पल घटनास्थलमा भेट्टीएको प्रहरीले जनाएको छ ।

सबै शवको मङ्गलबार परीक्षण गरेर आफन्तलाई बुझाइने बताइएको छ । त्रिपुराकोटतर्फ १२ जना यात्रु बोकेर जाँदै गरेको भे १ च १६१० नं.को जीप अपराह्न ठुली भेरी नदीमा खस्दा सात पुरुष र तीन महिलासहित १० को घटनास्थलमै मृत्यु भएको हो ।

जीप सडकबाट पन्ध्र मिटर तल ठूलीभेरी नदीमा खसेको थियो । जिल्लावासीलाई सुविधा दिनका लागि हेलिकोप्टरबाट ल्याएका जीप सदरमुकाम दुनै–त्रिपुराकोट दुनै–जुफालमा सञ्चालित थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्