सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विजयकुमार गच्छेदार बने कांग्रेसका उप–सभापती

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको छ । कांग्रेसमा आन्तरिक विवादबीच बसेको बैठकले पार्टी एकताबाट आएका नेता गच्छदारलाई उपसभापतिमा नियुक्त गर्नुका साथै महासमिति बैठक सारेको हो ।

बैठकले गच्छदारलाई उपसभापतिमा मनोनित गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस औपचारिक रूपमा एकता भएको घोषणा गरेको छ । जिल्लागत रूपमा पार्टी संगठन र भातृ संगठनको एकताका लागि पार्टी उपसभापति विमलेन्द्र निधिको संयोकत्वमा समिति गठन गरिएको कांग्रेसले जानकारी दिएको छ ।

केन्द्रिय समिति बैठकले महासमिति बैठक आगामी मंसिर २८ गतेसम्मका लागि सार्ने निर्णय गरेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र अर्जुन नरसिंह केसीले पार्टीको यस्तो निर्णयमा आपत्ति जनाउँदै असहमति जनाएका छन् ।

बाधाअड्चन फुकाउ जारी नगरी निर्णय भएको भन्दै उनीहरुले असहमति जनाएका हुन् । मंसिर २८ गतेका लागि सरेको महासमिति बैठक पुस ३ गतेसम्म काठमाडौंमा चल्ने छ । यसअघि महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्