सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्छुः पशुपति जबरा

राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर जबराले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको ९ महिना बितिसक्दा पनि अहिलेसम्म भने जसरी काम गर्न नसकेको भन्दै असन्तुष्टि पोखेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष राणाले यस्तो बताएका हुन् ।

उनले भने–‘यत्रो ९ महिना बितिसक्यो, तर सरकारले काम देखाउन सकेन् । दुई तिहाईको यत्रो शक्तिशाली सरकार छ, तर सरकार अल्मलिएको छ ।’ देउसी खेल्न पुगेको टोलीसँग भने–‘सरकारले किन काम गर्न नसकेको भनेर अहिलेसम्म मैले बुझेको छैन् । यो कुरा रहस्यमय छ । दक्ष टिम नभएर हो वा अरु के कारणले हो मलाई थाहा छैन, तर सरकारले काम गर्न सकेन ।’

अध्यक्ष राणाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन बितिसक्दा पनि सरकारले अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै आक्रोश पोेखे । उनले भने–‘सरकारले ब्यूरोक्रेसी हाँक्न सकेन् ।’ हिन्दूस्तानमा भाउ नबढेको तर नेपालमा ह्वात्तै बढेको भन्दै उनले सरकारले महँगी नियन्त्रण गर्न पनि नसकेको आरोप लगाएका छन् ।

उनले भने–‘त्यतिमात्रै होइन, सरकारले जनतालाई करको ठूलो बोझ बोकाएको छ । अब सरकारले जनतालाई सेवा प्रवाह गर्नेगरि आफूलाई ड्राईभ गर्नुपर्छ । प्रधानमन्त्री ओलीजीले त्यता ध्यान दिनुपर्छ ।’ उनले प्रधानमन्त्री ओलीलाई अब बोलेका कुरा पूरा गराएरै छोड्छु भनेर अठोटका साथ लागिपर्न पनि सुझाव दिएका छन् ।

फरक प्रसंगमा उनले अब तीनवटै राप्रपा एक हुनेगरि छलफल अघि बढाइएको पनि जानकारी दिएका छन् । उनले भने–‘हामीबीच एकताको लागि सकारात्मक छलफल तथा सम्वाद जारी छ । तर, पार्टी एकता कहिले हुन्छ भनेर अवधि तोक्ने बेला भएको छैन् । लोहनीजीसँग मेरो हिजो धेरै राम्रो कुराकानी भएको छ ।’

उनले नेपालको पहिचान नै हिन्दूराष्ट्र भएकोले देशलाई छिट्टै हिन्दूराष्ट्र बनाएरै छोड्ने बताएका छन् । उनले भने–‘नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्छु, मसँग सामथ्र्य पनि छ । र, आँट पनि छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्