सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चाडवाडको बेला खाने चामल नभएपछी आत्महत्या

चाडवाडका बेला सबैजसो मानिसहरु आ–आफ्नो घर–आँगनलाई दुलहीझैं सिंगार्नमै व्यस्त रहन्छन् भने खानेकुराका विभिन्न पकवानहरु समेत बनाउने गर्छन् । तिहार पूजाको तयारीका लागि बिहानै देखि हिन्दुधर्मावलम्बीहरु निकै व्यस्त छन् । तर धनुषामा एक व्यक्तिले तिहार पर्वका लागि केहि कुराको जोहो गर्न नसकेपछि निराश भएर आत्महत्या गर्न पुगेका छन् ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ स्थित नौसय विघा बस्ने २८ वर्षिय अशेष दासले आत्महत्या गरेका हुन् । वैदेशिक रोजगारमा गएको करिब एक वर्ष नवित्दै उनले सोचेको जस्तो कमाई गर्न सकेनन् । वैदेशिक रोजगारमै रहेको बेला घरमा आमा बितेपछि काम छाडेर गाउँ आएका अशेष फेरि विदेश फर्किए ।

विदेशबाट गाउँ आएपछि उनले श्रीमती विन्दादेवी दासलाई विदेशमा छँदा पठाएको रकमको हिसाब–किताब खोज्दा सोही झगडामा अल्झिए । ऋण लिएर विदेश गएका अशेषले कमाएको पैसा साहुको रकम तिर्दैै सिद्धियो भने केही रकम उनले श्रीमती विन्दालाई पठाएका थिए । दशैं जसोतसो टारेका अशेषले गाउँमै बसेर गरेको केही आम्दानीबाट घरबार र बालबच्चा पाल्न धौ–धौ परिरहेको थियो ।

श्रीमती विन्दालाई पठाएको रकमको हिसाब–किताब स्पष्ट नहुँदा अशेष भित्रको कुण्ठा बढ्दै गएको पारिवारिक श्रोतले बताएको छ । श्रीमती विन्दासँग उनको सम्बन्ध विस्तारै बिग्रिँदै गएको थियो । कमाएर पठाएको सम्पतिबारे श्रीमतीले केही नबताएपछि उनी निकै निराश भएको उनका बुवा महाविर दास बताउँछन् ।

कमाएको धन कति थियो भन्नेबारे उनको बुवा महाविर दासलाई थाहा छैन । उनी भन्छन–‘कति कमायो भन्ने कुरामा मैले कहिल्यै मतलब राखिन, अशेष र विन्दालाई नै थाहा होला ।’ तर श्रीमान् अशेष र श्रीमती बिन्दा बीचको विवादले झगडाको रुप लिइसकेको थियो । सम्भवतः यहि सामान्य विवादकै कारण अशेषले आफ्नो जीवन नै त्यागे ।

घरमा अन्नपानी केही नभएपछि केहि दिनदेखि उनी बासी खानेकुराहरु खाएर नै दिन काटिरहेका थिए । तर बिहान–बिहान श्रीमती विन्दाले खानको लागि घरमा केहि नभएको भन्दै कराउन थालेपछि उनी थप तनावमा थिए ।

अशेषकी श्रीमती विन्दाले आज घरमा एक मुठी पनि चामल नभएको कुरा जानकारी गराउँदा श्रीमान अशेषले घरमा झुण्डिएर आत्महत्या गरेको बताइन् । पछिल्ला दिन अशेषको श्रीमती विन्दासँग झगडा हुँदै आएको थियो ।

विन्दाले घरमा खानेकुरा नभएको भन्दै चामल ल्याउन अशेषलाई दबाब दिइरहेको कुरा छिमेकीहरुले पनि पुष्टि गरेका छन् । विन्दाका अनुसार अशेषले गएराती रोटी खाएर सुतेका थिए । विन्दाले चामल ल्याउन भनेपछि दुवैबीच झगडा भएको र अशेषले विन्दालाई कुटपिट गरेको स्थानीयवासी बताउँछन् ।

विन्दा र अशेषबीच ६ वर्षअघि विवाह भएको थियो । उनीहरुको एउटा ५ वर्षीय छोरा छन् । छोरा मामागाउँ बिसरभोरामा बसिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार अशेषले विदेशमा कमाएको पैसा आफ्नी श्रीमतिको नाममा पठाउँदै आएको र श्रीमतीले रकम बचाउन नसकेपछि यस्तो घटना निम्तिएको हुनसक्ने अनुमान लगाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्