सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जातीय मुद्दा बोक्ने हो भने देश रुवाण्डा बन्छः नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जातीयताको कुरा बोकेर हिड्ने हो भने देश रुवाण्डा बन्ने बताएका छन् । भक्तपुरको सूर्यनगर टोल विकास समाजले आयोजना गरेको दिपावली, छठ, नेपाल संम्वत् ११३९ तथा ल्होछार पर्वको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

उनले भने–‘सबैभन्दा पहिले हामीले जातभन्दा पनि म नेपाली हुँ भन्ने भावना लिनुपर्दछ, जातीय कुरा बोक्ने हो भने देश रुवाण्डा हुन्छ ।’ दुई तिहाई सरकारले देशमा विकास निर्माण र अन्य काम गर्दै गइरहेकोले आगामी केही वर्षमा देश सम्बृद्ध हुने उनको भनाई छ ।

वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणको काममा सरकारका तर्फबाट पर्याप्त अनुगमन नभएको बताएका छन् । कार्यक्रममा नेता नेपालले भने–‘विकासका लागि सबैले आफ्नो कर्तव्य पुरा गर्नुपर्दछ ।’ नेपालका सडकमा सानो खाल्डो हुँदा कसैको ध्यान नजाने र मानिसको मृत्यु भएपछि मात्रै ध्यान जानु दुःखद पक्ष भएको उनले बताए ।

काठमाडौं जोरपाटीबाट साँखु सडक खण्डमा गाडीभित्र बसेर जाँदासमेत ढाड भाच्चिने अवस्था आएपछि आफुले ठेकेदारलाई फोन गरेर ‘तपाईलाई पनि मेरो गाडीमा राखेर ढाड भाच्ने गरि हिडाउँ ?’ भनेको स्मरण गराएका थिए ।

एउटा सानो ट्रकको रोडाले खाल्डा पुरिने भएपनि निर्माण व्यवसायीले ध्यान नदिँदा दैनिक लाखौैैँ यात्रु र हजारौं सवारीसाधन जोखिममा पर्ने गरेको नेता नेपालको भनाई छ ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले आगामी पाँच वर्ष भित्रमा भक्तपुरलाई विकसित तथा समृद्ध बनाउने उद्घोष गरेका छन् । उनले विकासका नाममा राजनीतिकरण गर्न नहुने भन्दै भक्तपुरलाई विभाजित नभई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्