निर्मलाका हत्यारा छिट्टै कानुनी कठघरामाः गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले बलात्कारी पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारा छिट्टै कानूनको कठघरामा आउने दावी गरेका छन् । रिपोर्टस क्लवले आयोजना गरेको देउसी भैलो कार्यक्रमपछि बोल्दै गृहमन्त्री थापाले सरकारले अपराधिहरुलाई कानुनी कठघरामा पारिरहेको भन्दै निर्मला पन्तका हत्यारा पनि छिट्टै कठघरामा आउने बताएका हुन् ।
गृहमन्त्री थापाले भने–‘तपाई अहिले जेलमा गएर हेर्नुभयो भने त्यहाँ बलात्कारीहरुको संख्या ठूलो छ । जबरजस्ती करणी गर्ने, व्यभिचार गर्नेहरुको संख्या ठूलो मात्रामा छ । बलात्कारीहरुलाई कारबाही भैरहेको छ । जहाँसम्म निर्मला प्रकरणको कुरा हो, त्यो विषयहरुलाई कानूनको कठघरामा ल्याउने प्रक्रिया जारी छ । दोषी र अपराधीहरु कानूनको कठघरामा छिट्टै आउँछन् ।
यस्तै, गृहमन्त्री थापाले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अँझै कठोरताका साथ प्रस्तुत हुने चेतावनी दिएका छन् । उनले भनेका छन–‘भ्रष्टहरुलाई कारबाही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेकै छ । देशबाट भ्रष्टाचार, तस्करी र अपराधहरुलाई निर्मुल गर्ने, नियन्त्रण गर्ने अभियान चलिरहेको छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्