सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सरकारले किन लुकायो मन्त्रिपरिषद बैठकका निर्णय

आइतबार साँझ अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णय सरकारले लुकाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ चार घण्टा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले गुपचुप राखेको हो ।

बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले महत्वपूर्ण निर्णय गरेको जानकारी दिएका थिए । यद्यपी उनले निर्णय भने सार्वजनिक गरेनन् । प्रवक्ताको भनाई अनुसार सरकारले मन्त्रीपरिषद्का निर्णयहरु तत्काल जानकारी नगराउने निर्णय गरेको छ ।

बैठकपछि प्रवक्ता बाँस्कोटाले भने, ’पत्रकार साथीहरु आज मन्त्रिपरिषद बैठक अलि लामो समयसम्म बस्यो । धेरै विषयमा छलफल भयो । आवश्यक निर्णय गरिएको छ । र समयक्रममा तपाईंहरुले थाहा पाइहाल्नु हुनेछ । आजलाई यत्ति नै ।’

यद्यपी सरकारले लामो समयदेखि रिक्त रहेका तीन देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले भारत, मलेसिया र संयुक्र अरब इमिरेट्स (युएई) का लागि राजदूतको नाम सिफारिस गरेको हो ।

सरकारले भारतका लागि निलाम्बर आचार्यको नाम सिफारिस गरेको छ भने युएईका लागि कृष्ण प्रसाद ढकाल र मलेसियाका लागि उदयराज पाण्डेको नाम सिफारिस गरेको छ ।

राजदूतमा सिफारिस भएका ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव र आचार्य संविधानविद् हुन् । यस्तै पाण्डे यसअघि साउदी अरबको पूर्व राजदूत भइसकेका व्यक्ति हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्