सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बाख्रा चराउन गएकी बालिका भारतियद्वारा बलात्कृत

बर्दियाको बढैयाताल गाउँपालिकाकी ११ वर्षीया बालिका बाख्रा चराउन गएको बेला सामूहिक बलात्कारको सिकार भएकी छिन् । रुँदै घर आएकी बालिकाले आमालाई घटनाबारे बताएकी थिइन् । त्यसपछी गाउँलेले घटनाबारे प्रहरीलाई खबर गरेका थिए ।

जानकारी पाए लगत्तै खटेको प्रहरीले बलात्कारमा संलग्न दुई किशोरलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वलीका अनुसार आरोपित भारतको उत्तर प्रदेशको बहराइच मोतीपुरका १५ र १६ वर्षीय किशोर पक्राउ परेका छन् । बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

त्यसैगरी उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँमा दुई दिनदेखि हराएकी एक १३ वर्षीया किशोरी आइतबार मृत अवस्थामा फेला परेकी छिन् । मृतक ती बालिका स्थानीय दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी एल्जीना भएको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार बाख्रा चराउन गएकी उनी आइतबार स्थानीय पाखाको खरबारी जङ्गलमा कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा फेला परेकी थिइन् । उक्त घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको वरिष्ठ प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताएका छन् ।

मृतकका बुबाले केही व्यक्तिले बलात्कारपछि छोरीको हत्या गरेको जिकिर गरेका छन् । गोठालो गएकी एल्जीना राति अबेरसम्म घर नआएपछि राति र दिनभरि गाउँले मिलेर खोजी गर्दा दिउँसो २ बजे स्थानीय खरबारी डाँडाको रुखको फेदमा मृत भेटिएपछि प्रहरीमा खबर गरिएको उनले जानकारी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्