सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

श्रीमतीको उपचारका लागी प्रचण्ड तातोपानी कुण्डमा

पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नशासम्बन्धी रोगबाट थलिएकी आफ्नी श्रीमती सीता दाहालको उपचारका लागि सोमबार म्याग्दीको तातोपानी कुण्डमा पुगेका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादलको परिवारसहित तातोपानी पुगेका दाहालले म्याग्दी नदीको किनारमा मुहानबाटै निस्कने ५० डिग्री सेल्सियस तातो पानी संकलन गरिएको पोखरीमा दुई दिनसम्म स्नान गर्ने कार्यक्रम रहेको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् बिहान ११ बजे अर्थुङ्गेस्थित श्रीबक्स गुल्ममा अवतरण गरेका दाहाल र थापा परिवारसहित दिउँसो २ बजे गाडीमार्फत् तातोपानी पुगेका थिए ।

विश्राम, पारिवारिक भ्रमण र तातोपानी कुण्डमा स्नान गरी श्रीमतीको नशा सम्बन्धि रोगको उपचारका लागि प्रचण्ड म्याग्दी आएको उनका स्वकीय सचिव जोखबहादुर महराले बताएका छन् । प्रचण्ड पत्नी दाहालको केही समयअघि सिंगापुरको अस्पतालमा उपचार गरिएको थियो ।

गाडीबाट झरेपछि सिता दाहाललाई छोरी र सहयोगीले समाएर कुण्डसम्म पु¥याएका थिए । उनीहरुले दिउँसो २ देखि ४ बजेसम्म तातोपानी कुण्डमा स्नान गरेका थिए ।

बिरेनुनको गन्धमा निस्कने तातोपानी संकलन गरिएको कुण्डमा स्नान गरेमा ग्यास्ट्रिक, गानो गोला, चोट पटक लागेको, सर्के मर्केको, नशा, हाडजोर्नी सम्बन्धि समस्या निको हुने जनविश्वास छ ।

तीन सय जनाले स्नान गर्न सक्ने पोखरी बनाइएको छ । अस्पतालहरुमा उपचार गराउँदा समेत निको नभएको रोग तातोपानीमा स्नान गरेर स्वास्थ्य लाभ भएको उपचारका लागि आएकाहरु बताउँछन् ।

तातोपानीमा सल्फर भएकाले एक व्यक्तिको रोग अर्कामा नसर्ने व्यवस्थापन समितिका सचिव कृष्ण खड्काले बताए । कुण्डमा दश दिनसम्म स्नानका लागि प्रतिव्यक्ति तीन सय रुपैयाँ शूल्क तिर्नुपर्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्