सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

श्रीमतीको उपचारका लागी प्रचण्ड तातोपानी कुण्डमा

पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नशासम्बन्धी रोगबाट थलिएकी आफ्नी श्रीमती सीता दाहालको उपचारका लागि सोमबार म्याग्दीको तातोपानी कुण्डमा पुगेका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादलको परिवारसहित तातोपानी पुगेका दाहालले म्याग्दी नदीको किनारमा मुहानबाटै निस्कने ५० डिग्री सेल्सियस तातो पानी संकलन गरिएको पोखरीमा दुई दिनसम्म स्नान गर्ने कार्यक्रम रहेको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् बिहान ११ बजे अर्थुङ्गेस्थित श्रीबक्स गुल्ममा अवतरण गरेका दाहाल र थापा परिवारसहित दिउँसो २ बजे गाडीमार्फत् तातोपानी पुगेका थिए ।

विश्राम, पारिवारिक भ्रमण र तातोपानी कुण्डमा स्नान गरी श्रीमतीको नशा सम्बन्धि रोगको उपचारका लागि प्रचण्ड म्याग्दी आएको उनका स्वकीय सचिव जोखबहादुर महराले बताएका छन् । प्रचण्ड पत्नी दाहालको केही समयअघि सिंगापुरको अस्पतालमा उपचार गरिएको थियो ।

गाडीबाट झरेपछि सिता दाहाललाई छोरी र सहयोगीले समाएर कुण्डसम्म पु¥याएका थिए । उनीहरुले दिउँसो २ देखि ४ बजेसम्म तातोपानी कुण्डमा स्नान गरेका थिए ।

बिरेनुनको गन्धमा निस्कने तातोपानी संकलन गरिएको कुण्डमा स्नान गरेमा ग्यास्ट्रिक, गानो गोला, चोट पटक लागेको, सर्के मर्केको, नशा, हाडजोर्नी सम्बन्धि समस्या निको हुने जनविश्वास छ ।

तीन सय जनाले स्नान गर्न सक्ने पोखरी बनाइएको छ । अस्पतालहरुमा उपचार गराउँदा समेत निको नभएको रोग तातोपानीमा स्नान गरेर स्वास्थ्य लाभ भएको उपचारका लागि आएकाहरु बताउँछन् ।

तातोपानीमा सल्फर भएकाले एक व्यक्तिको रोग अर्कामा नसर्ने व्यवस्थापन समितिका सचिव कृष्ण खड्काले बताए । कुण्डमा दश दिनसम्म स्नानका लागि प्रतिव्यक्ति तीन सय रुपैयाँ शूल्क तिर्नुपर्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS