छठको आज मुख्य दिन, धर्म र भुगोल जोड्दै छठ पर्व
आज छठ पर्वको मुख्य दिन । सूर्यदेवको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व आइतबारदेखि शुरु भएको हो । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अर्घ दिइँदैछ ।
वीरगञ्जको घडिअर्वास्थित छठीघाटमा आज ठूलो मेला लाग्दैछ । सोमबार रंगबिरंगी बिजुली बत्तीले उक्त घाट सिंगारिएको छ, जसलाई सजाउन मात्रै १४ लाख रुपैयाँ भन्दा बढी खर्च गरिएको घडिअर्वा पोखरी छठपूजा व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद साह कानुले जानकारी दिएका छन् ।
पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर व्रत बसेसँगै छठ पर्व आरम्भ हुन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सख्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।
यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अघ्र्य दिने विधि छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआरधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।
छठमा फलफूल, मूला, गाजर ,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती लगायतका सामानहरु व्रतालुले बजारबाट खरिद गरेर घरमा ल्याउने गरिन्छ । छठ पर्वमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्यदेवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।
कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजाआरधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ ।
छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी लगायत वाग्मती, बल्खु, नख्खु र विष्णुमती लगायत नदी किनारमा सजावट गरिएको छ । गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गर्दै सूर्यलाई अर्घ दिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
तराइ मधेसका भोजपुरी र मैथीलीभाषीले मनाउने छठ पर्वलाई पछिल्लो समय पहाडीहरुले पनि मनाउन थालेका छन् । छठलाई हिन्दुहरूको पर्व भनिएको भए पनि छठी माताप्रतिको आस्थाबाट प्रभावित भई तराई मधेसका केही मुस्लिम धर्मावलम्बीले पनि छठ पर्वको व्रत लिएर छठीमाताको पूजा आराधना गरेको भेटिन्छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्