प्रेमीसँगको सम्बन्ध थाहा पाएपछी श्रीमानको हत्या
संगै जिवन काट्ने बाँचा कसम खाएका श्रीमानले प्रेमीसँगको नाजायज सम्बन्ध थाहा पाएपछी मोरङमा एक महिलाले प्रेमीसँगै मिलेर आफ्नै श्रीमानको हत्या गरेको खुल्न आएको छ ।
मोरङको सुनवर्षी नगरपालिका ३ कि ३० बर्षकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग मिलेर आफ्ना ४५ बर्षका पति सोही हेमरमको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो ।
प्रहरीका अनुसार गत कात्तिक २४ गते दिनभरीजसो हेमरन श्रीमान श्रीमतीबीच झगडा भएको थियो । सोही र फुलमुनीको झगडा भएपछि छिमेकीसमेत रहेका मदनले सोहीलाई घरबाट लगेर मदिरा सेवन गराएका थिए ।
मदिरा सेवन गरी राति मदनसँगै फर्किएका सोहीले पुन श्रीमतीसँग झगडा गरेपछि फुलमुनीले पिर्काले प्रहार गरेकी थिइन् । पिर्काले कन्चटमा लागेपछि लडेका सोहीलाई मदन र फुलमुनीले मिलेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिएका छन् ।
हत्या भएको खबर पाएपछि पुगेको प्रहरीले फुलमुनीलाई घरबाट नै पक्राउ गरेको थियो भने २६ बर्षका प्रेमी मदनलाई सुनबर्षी ३ अन्तरगत बक्राहा खोला छेउमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कन्चटमा पिर्काले लागेपछि लडेका सोहीको घाँटी मदनले तकियाले थिचेका थिए भने पत्नी फुलमुनीले खुट्टा समाएर हत्या गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।
घरमा सुतेको व्यक्ति ओच्छ्यानमै मृत फेला परेको खबर आएपछि पुगेको प्रहरीले फुलमुनीलाई घरबाट नै नियन्त्रणमा लिएको थियो । सामान्य मजदुर परिवारका सोही सधैं मदिरा सेवन गरी झगडा गर्ने गरेका थिए । उनको घरमा छिमेकीसमेत रहेका मदनको आउजाउ बाक्लो थियो ।
पक्राउ परेका दुबैजनाले हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीले दुवैलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट सोमबार म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
बुबाको हत्या आरोपमा आमा पक्राउ परेपछि हेमरनका ३ छोराछोरीलाई सानिमाको जिम्मा लगाइएको छ । हेमरनका ४ छोराछोरीमध्ये जेठी छोरीको विवाह भइसकेको छ । अन्य तीन जनालाई छिमेकमै रहेकी सानिमाको जिम्मा लगाइएको प्रहरी निरिक्षक कार्कीले बताएका छन् ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्