धरानमा दुई बालिका बलात्कृत, बलत्कारी नियन्त्रणमा
धरानमा एकैदिन दुई बालिका बलात्कृत भएका छन् । बलात्कार आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धरान १६ का ३० वर्षीय विष्णु तामाङ र १७ का २७ वर्षीय सुवास राईलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरीका नायब उपरीक्षक सुमन तिम्सिनाका अनुसार तामाङले गत आइतबार बिहान ९ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । तामाङ शारीरिक रूपले तन्दुरुस्त भए पनि बोल्न सक्दैनन् । बालिकामाथि जबर्जस्ती गरिरहेको गाउँलेले देखेपछि समातेर प्रहरीलाई बुझाइएको थियो ।
बालिकाको घरमा कोही नभएका बेला तामाङले बलात्कार गरेको प्रहरीले जनाएको छ । सुरुमा तामाङले इसारामार्फत आफूले बलात्कार नगरेको भने पनि बालिकाको शारीरिक अवस्था हेर्दा जबर्जस्ती भएको देखिन्छ ।
त्यसै दिन बेलुका सुवास राईले धरान १७ मा १२ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । चार कक्षामा पढ्ने बालिकालाई सुवासले ललाइफकाई घरभित्र लगेर जबर्जस्ती गरेको प्रहरीले जनाएको छ ।
बेलुकासम्म भान्जीलाई घरमा नदेखेपछि खोजतलास गर्दा स्थानीय दिनेश राईको घरको कोठामा रुँदै बसेको अवस्थामा भेटेर प्रहरीलाई खबर गरिएको थियो । मामालाई देख्नासाथ भान्जीले रुँदै आफूलाई सुवासले जबर्जस्ती गरेको बताएकी थिइन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्