तल्लो तहसम्म मन मिल्न केही समय लाग्छः प्रचण्ड
नेकपा अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी एक भए पनि मनको एकता भइनसकेको बताएका छन् । तल्लो तहमा पनि चाँडै एकता टुंग्याउने उनको भनाइ छ ।
‘हिजो दुई पार्टीले एकले अर्कोलाई सिध्याउनेसम्मको तहमा लडेका कार्यकर्ता भएकाले पार्टी एकता भए पनि मन एकता भइसकेको छैन,’ म्याग्दी भ्रमणमा आएका उनले बुधबार भने, ‘विस्तारै मिल्दै जान्छ । सरकारलाई सफल पार्नु र पार्टी एकतालाई सुदृढ पार्नुको विकल्प छैन ।’
प्रदेश तहमा पार्टी एकता टुंगो लागेको र छिट्टै जिल्ला र स्थानीय तहमा पनि टुंगिने दाहालले दाबी गरेका छन् । गृहमन्त्री रामबहादुर थापासहित पत्नी सिताको उपचारका लागी तातोपानी म्याग्दी पुगेका उनले सोमबार तातोपानीमा डुबुल्की लगाउनुका साथै गलेश्वर धाममा पूजाअर्चनासमेत गरेका थिए ।
तातोपानीमा डुबुल्की मार्दा रोग निको हुन्छ भन्ने पत्नी सीताको इच्छाअनुसार आएको उनले बताएका छन् । आफू र गृहमन्त्री थापाको तातोपानी बसाइले प्राकृतिक चिकित्सा पर्यटनमा अर्थपूर्ण सन्देश गएको उनले दाबी गरेका छन् ।
बुधबार काठमाडौं फर्कनुअघि आफ्नो तीनदिने बसाइको समीक्षा गरेका दाहालले कर्मचारीतन्त्रका कारण राजनीतिक परिवर्तन संस्थागत गर्न नसकिएको आरोपसमेत लगाए । २००७ सालदेखि गणतन्त्र घोषणासम्मका सबै राजनीतिक आन्दोलनले व्यवस्था परिवर्तन गरे पनि कर्मचारीतन्त्र फेर्न नसकेको उनले बताए ।
‘संघीयताको उद्देश्य सिंहदरबार गाउँमा र्पुयाउनु थियो तर राजनीतिक परिवर्तनलाई संस्थागत गर्न कर्मचारीतन्त्रले बाधा र्पुयाएको छ,’ उनले भने–‘राजनीतिक आन्दोलनले व्यवस्था र्फेयो तर, कर्मचारीतन्त्रको मानसिकता फेर्न सकेन । हाकिमले परिवर्तन आत्मसात गर्न सकेनन, बरु नेता नै हाकिम भए । परिवर्तन उल्टेला भन्ने डर भइसक्यो ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्