सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रलोभनमा धर्म परिवर्तन गराउने ३ जना देश निकाला

सरकारले भिसा दुरूपयोग गरी धर्म परिवर्तन गराउने ३ विदेशीलाई प्रवेशमा प्रतिबन्ध लगाई निस्काशन गर्ने भएको छ । पछिल्लो पटक इसाई धर्म प्रचारका क्रममा नियन्त्रणमा लिइएका दुई जापानी महिला मारी इकुरा र यासुको ओबा तथा अस्ट्रेलियाली युवती क्याटिया ग्रानलाई गृह मन्त्रालयले डिपोर्ट गर्ने तयारी गरेको हो ।

दुई जना जापानीलाई नेपाल प्रवेशमा ५ वर्ष प्रतिबन्ध लगाउने गृहको तयारी छ । अध्यागमन विभागले धर्म प्रचार गर्ने जापानीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ । धर्म परिवर्तन गराउने नेपालीमाथि समेत कानुनअनुसार कारवाही गर्ने तयारी गृहको छ ।

अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले धर्म प्रचारको आरोपमा पक्राउ परेका जापानीलाई निस्काशनको तयारी भइरहेको बताए । उनले भने–‘निस्काशन प्रस्तावसहितको फाइल गृह मन्त्रालयमा पठाएका छौं ।’ बुटवल–१४ पदमपुर क्षेत्रको सुकुम्बासी बस्तीमा बाइबलसहित धर्म प्रचार गरिरहेका बेला उनीहरू कात्तिक १८ गते पक्राउ परेका थिए ।

हिन्दु धर्मको कडा विरोध गर्दै हिँडेका उनीहरूलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । नेपाली प्रष्ट बोल्ने उनीहरू पर्यटक भिसा लिएर धर्म प्रचार गर्दै आएको पुष्टि भएको छ । सुकुम्वासी वस्तीमा धर्म परिवर्तन गराउँदा उनीहरूले आर्थिक प्रलोभन देखाएका थिए ।

त्यही आरोपमा सोमबार बर्दियाको गुलरियामा पक्राउ परेकी अर्की अस्ट्रेलियाली ग्रानसमेत अध्यागमनको हिरासतमा छिन् । विद्यार्थी भिसामा बसेकी उनले धर्म प्रचार गरेको पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले कारवाहीका लागि काठमाडौंस्थित अध्यागमनमा पठाएको छ । व्यापारिक, पर्यटक, विद्यार्थी लगायत भिसा लिएर इसाई धर्म प्रचारमा विदेशीको संलग्नता भेटिएपछि गृहले उनीहरूमाथि कडा निगरानी गर्ने भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्