स्वास्थ्य सचिव पुष्पा चौधरीलाई कारबाहीको तयारी
सरकारले स्वास्थ्य तथा जनसंख्यासचिव डा. पुष्पा चौधरीमाथि कारबाहीको तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिए पनि सचिव चौधरी हाजिर हुन नगएपछि उनीमाथि कारबाही गर्ने मनस्थितिमा सरकार पुगेको हो ।
सरकारको निर्णयविरुद्ध सचिव सर्वोच्च अदालत गएको नेपालको इतिहासमा पहिलो घटना हो । ‘यस विषयमा सरकार मौन बस्न सक्दैन,’ प्रधानमन्त्री कार्यालयका एक सचिवले भने ।
सर्वोच्चको आदेशसँगै चौधरी प्रधानमन्त्री कार्यालयमा जानकारी नै नगराई नियमित रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जाने गरेकी छन् । सरकारले उनको सबै अधिकार खोसेको छ ।
गत २८ असोजको मन्त्रिपरिषद् बैठकले चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा गरेको थियो । सरकारको निर्णयविरुद्ध उनले सर्वोच्च अदालतमा मुद्दा हालेकी थिइन् । उनको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले १५ कात्तिकमा सरकारको निर्णय कार्यान्वयन नगर्नु भन्दै अन्तरिम आदेश दिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या सचिव चौधरीलाई प्रधानमन्त्री केपी ओलीले दुई महिना अगाडि नै हटाउने तयारी गरेका थिए । तर, मुख्यसचिव लोकदर्शन रेग्मीले च्यापेका कारण उनको तत्काल सरुवा नभएको स्रोतले बतायो । पटकपटक विवादमा आएपछि गत २८ असोजमा सरुवा गर्दा ११ दिनसम्म मुख्यसचिव रेग्मीले नै सरुवाको पत्र होल्ड गरेर राखेको पाइएको थियो ।
सञ्चारमाध्यममा सरुवाको समाचार व्यापक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उनलाई सरुवा गरेको पत्र पुगेको थियो । प्रधानमन्त्री कार्यालयमा हाजिर नभई सरुवाको विरुद्ध सर्वोच्च अदालत गएपछि डा. चौधरीसँग मुख्यसचिव रेग्मी पनि आक्रोशित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवका रूपमा डा. सुशीलनाथ प्याकुर्याललाई अधिकार दिइएको छ । पूर्ण अधिकारसहितको पत्र दिएसँगै प्याकुर्यालले नियमित कामकाज सुरु गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कानुनसचिव रमेश ढकालका अनुसार डा.चौधरीका विषयमा कसरी अगाडि जाने भन्ने विषयमा छलफल भइरहेको छ । अन्तरिम आदेशको सूचना औपचारिक रूपमा प्रधानमन्त्री कार्यालय पुगेको छ ।
‘चौधरीलाई दिएको आदेश अन्तिम होइन,’ सचिव ढकालले भने, ‘अन्तरिम आदेश रद्द गर्न बाटो खुला छ । हामी त्यसमा छलफल गरिरहेका छौँ ।’ लिखित जवाफ पठाउने समय बाँकी रहेकाले अहिले सरकार लिखित जवाफ पेस गर्ने तयारीमा भएको पनि सचिव ढकालले बताए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्