सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

टिभि किन्न घुस माग्ने डिएसपी राई धरौटीमा रिहा

बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

बिहीबार बिशेष अदालतले राईलाई घुस बराबरको रकम धरौटीमा लिएर छाड्ने आदेश दिएको हो । महानगरीय प्रहरी वृत्त, बौद्धका तत्कालिन प्रमुख राई २० असोजमा बालुवा व्यवसायीसँग व्यापार चौपट पारिदिने धम्की दिएर सेवाग्राहीसँग रकम असुली गर्दै गर्दा कार्यालयबाटै पक्राउ परेका थिए ।

घुस लिँदालिँदै रंगेहात समातिएका महानगरीय प्रहरी वृत्त, बौद्धका तत्कालीन प्रमुख डीएसपी राईले असारदेखि नै बालुवा व्यवसायीसँग टेलिभिजन र टेलिभिजन राख्ने सोकेस माग्दै आएको अनुसन्धानका क्रममा खुलेको हो ।

न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उनलाई छाड्ने आदेश दिएको अदालत स्रोतले जनाएको छ । उनले बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर आतंक मच्चाएको भन्दै प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको थियो । तर, शक्ति केन्द्रको संरक्षणको आडमा राईलाई कुनै कारबाही हुन सकेको थिएन ।

प्रहरी अधिकारीहरूले पटकपटक उनलाई सुध्रिन चेतावनी दिएको भए पनि उनले रकम असुली छाडेका थिएनन् । उनी पक्राउ पर्नु अघिल्लो दिन मात्रै मुलपानीमा राईको संरक्षणमा चल्दै आएको जुवा अखडामा काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारेको थियो । त्यसक्रममा भागदौड मच्चिँदा दुई जनाको मृत्यु समेत भएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्