धर्म परिवर्तन गराउँदै हिँड्ने विदेशीप्रति गृहमन्त्री कडा
बिभिन्न भिषामा नेपाल आएर हिन्दु धर्मलाई गालि गलौज गर्दै सोझा साझा जनतालाई पैसा दिने लोभ देखाई धर्म परिवर्तन गराउनेहरु बिरुद्ध सरकारले कारबाही सुरु गरेको छ । केही दिन अघि धर्म परिवर्तन गराउँदै हिँडेका बेला पक्राउ परेका २ जना जापानी र १ जना अष्ट्रलियन महिलालाई सरकारले देश निकाला गर्ने भएको छ ।
इसाई धर्म प्रचार गर्दैगर्दा कात्तिक १८ मा बुटवलबाट पक्राउ परेको जापानी नागरिक यासुको र मारी र गत सोमबार बर्दियाको गुलरियाबाट पक्राउ परेकी अस्ट्रेलियन नागरिक ग्राहम अध्यागमन बिभागको हिरासतमा छन् ।
पर्यटक भिसामा नेपाल आएर अन्य कुनै काम गरे कारबाही हुने प्रावधान अध्यागमन ऐनमा छ । धर्म परिवर्तन गर्ने कार्यलाई त नेपालको कानुनले नै अवैध ठहर गरेकाले उनीहरूलाई कारबाही गर्न लागिएको विभागले जनाएको छ ।
खासगरी गृहमन्त्री रामबहादुर थापा बादल धर्म परिवर्तनमा विदेशीहरू सक्रिय हुन थालेकामा असन्तुष्ट छन् । गृहमन्त्रीले नेपालमा मन्दिरहरू भत्काएर चर्च बनाउन लागिएको सूचना प्राप्त भएको सार्वजनिक कार्यक्रममै बताएका छन ।
उनले नेपालमा विभिन्न भिसामा रहेका विदेशीको निगरानी गरी गलत गतिविधिमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन् । उनको निर्देशनअनुसार अध्यागमन विभाग तथा जिल्ला प्रशासन कार्यालयहरूले सक्रियता बढाएका छन् ।
मन्त्रीकै निर्देशनअनुसार सक्रियता बढाइएको अध्यागमन विभागका एक अधिकारीले बताएका छन् । पर्यटक भिसा मात्र होइन बिजनेस भिसामा नेपालमा बस्ने विदेशीसमेत धर्म प्रचारमा संलग्न भएको पाइएको अध्यागमन विभागले जनाएको छ ।
ललितपुरको पुल्चोकमा सिङ–मा फुड कोर्टका सञ्चालक र कर्मचारीसमेत धर्म प्रचारमा लागेको खुलेको थियो । त्यही रेस्टुरेन्टको नाममा भिसा लिएकी इन्डोनेसियाकी महिला रिता गोंगा र उनका फिलिपिनो श्रीमान् दी भेरा रिचार्ड नेपालमा क्रिस्चियन धर्म प्रचारमा संलग्न रहेको खुलेको थियो ।
उनीहरूले कुमारीपाटीमा ‘एभ्री नेसन चर्च’ चलाउँदै आएका थिए । विभागको अनुसन्धानमा उनीहरू धर्म परिवर्तनकै लागि नेपालमा बसेको खुलेपछि जरिवाना गरी गत असारमा देश निकाला गरिएको थियो ।
नेपालमा बिजनेस भिसामा बस्दै आएका सयभन्दा धेरै व्यक्ति इसाई धर्मको प्रचार तथा धर्म परिवर्तनको ‘धन्दा’मा सक्रिय रहेको विभागको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
रेस्टुरेन्टका साथै भाषा प्रशिक्षण केन्द्रजस्ता साना लगानीका कम्पनी खोलेर विदेशीहरू नेपालको अध्यागमन कानुनविपरीत अवैध गतिविधिमा संलग्न छन् । विदेशी नागरिकमाथि प्रभावकारी अनुगमन हुन नसक्दा यस्ता अवैध गतिविधि बढ्दो छ ।
नेपालमा दुई हजारभन्दा धेरै विदेशी बिजनेस भिसा लिएर बसेको तथ्यांक अध्यागमन विभागसँग छ । बिजनेस भिसा लिन नेपालमा कम्तीमा ५० लाख रुपैयाँ बराबरको लगानी गर्नुपर्छ र त्यसरी लगानी गरेको कम्पनीमा अनुगमन गरेपछि मात्र बिजनेस भिसा दिन सकिने प्रावधान छ ।
तर, भिसाका लागि सिफारिस गर्ने उद्योग विभाग र भिसा दिने अध्यागमन विभागले विस्तृत अध्ययन र अनुगमन नगर्दा धर्म प्रचारको विकृति बढेको अधिकारीहरू बताउँछन् ।
सरकारले हालै विदेशीहरूको नियमनका लागि निर्देशिका बनाएको छ । गृह मन्त्रालयले ‘विदेशी नागरिक अनुगमन निर्देशिका, २०७५’ केही महिनाअघि ल्याएको हो । निर्देशिकाअनुसार विदेशी नागरिकमाथि नियमनमा कडाइ गर्न लागिएको विभागका प्रवक्ता विष्णुहरि उपाध्यायले बताए ।
विभागले हालै विदेशीले सञ्चालन गरेका केही कारखानामा अनुगमनसमेत गरेको छ । निर्देशिकाले अध्यागमन अधिकारीले छापा हान्न सक्ने र पक्राउ पुर्जीसमेत दिन सक्ने अधिकार दिएको छ ।
तान्त्रिकको भेषमा विदेशी जोडी, हिरासतमै सुत्केरी
नेपालमा तीन वर्षदेखि अवैध रूपमा बस्दै जर्मन नागरिक अर्ने बेन्जामिन र उनकी चिनियाँ श्रीमती साइमेन झाओ अहिले अध्यागमन विभागको हिरासतमा छन् । उनीहरूलाई देश निकालाको तयारी हुँदै गर्दा झाओ एक साताअघि अध्यागमनको हिरासतमै सुत्केरी भएकी छिन् । ३५ दिनदेखि हिरासतमा रहेको यो जोडी विनाभिसा चार वर्षदेखि नेपालमा रहेको खुलेको छ ।
तीन वर्षअघि स्पेनमा भेट भएपछि उनीहरू प्रेममा परेका थिए । त्यसपछि झाओलाई लिएर नेपाल भित्रिएका बेन्जामिन आफूलाई तान्त्रिक बताउँदै विभिन्न ठाउँ घुम्दै आएका थिए । उनीहरू २४ असोजमा काठमाडौंमा पक्राउ परेका हुन् । बेन्जामिनलाई चार लाख ९८ हजार तथा झाओलाई चार लाख ४१ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
जर्मन युवकसँग बिहे गरेकाले आफू जर्मनी नै जाने झाको चाहना भए पनि जर्मन दूतावासले ट्राभल डकुमेन्ट नदिएपछि उनले स्वदेश फर्किन चिनियाँ दूतावासमा निवेदन दिएकी छिन् । दूतावासबाट निर्णय नहुँदा उनको हिरासत बसाइ लम्बिएको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्