सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

निर्मलाको बलात्कार सरकार सञ्चालककै छोराबाट

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनामा नयाँ ट्विस्ट आएको छ । शनिबार राजधानीमा शक्ति प्रदर्शन गरेको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डले यो घटनामा सरकार सञ्चालन गरेर बसेका व्यक्तिकै छोराको संलग्नता रहेको ठोकुवा गरेका छन् ।

सार्वजनिक आमसभास्थलबाटै प्रवक्ता प्रकाण्डले हत्यारा सरकार सञ्चालककै छोराछोरी भएको मात्र दाबी गरेनन्, उनले अब आफ्नै पार्टीले हत्याको अनुसन्धान गरेर बलात्कारी र हत्यारालाई कारवाही समेत गर्ने घोषणा गरेका छन् ।

विभिन्न हिंसात्मक कारवाहीहरु गर्दै आएको विप्लव समूहले हत्यारालाई कारवाहीको धम्की दिएको र त्यसमा सरकार सञ्चालककै सन्तानको संलग्नता रहेको बताएपछि नेताका छोराछोरीमाथि सुरक्षा चिन्ता थपिएको छ ।

विरोध सभामा बोल्दै शनिबार प्रकाण्डले भनेका छन्–‘यो सरकार न अपराधीलाई पत्ता लगाउन सक्छ, न त यसलाई कारवाही गर्न सक्छ । यसले के प्रष्ट गर्छ भन्दा सरकार नै निर्मला पन्तको हत्या र बलात्कारका घटनामा संलग्न छ भन्ने कुरा प्रष्ट हुन्छ ।’

उनले अगाडि भनेका छन्–‘सरकारका मान्छेहरु नै, सरकार चलाइराखेका मान्छेका छोराछोरी नै निर्मला पन्तको हत्या र बलात्कारमा संलग्न छन् भन्ने प्रष्ट हुन्छ । नत्र राज्य लागेपछि एउटा बलात्कारीलाई समात्न सकिँदैन ? एउटा हत्यारालाई समात्न सकिँदैन ?’

विश्वकर्माले अब आफ्नो पार्टीले हत्यारालाई समातेर कारवाही गर्ने बताउँदै भने– ‘हाम्रो पार्टीले अपराधीको अनुसन्धान गर्छ । हाम्रो पार्टीले अपराधी पत्ता लाउँछ र यो सरकारका अगाडि, जनताका वीचमा ल्याएर निर्मलाको हत्या र बलात्कार गर्ने अपराधीलाई कारवाही गर्नेछ ।’

अनुसन्धानका क्रममा घटनास्थल आसपासका सीसी क्यामेराका फुटेजहरु डिलिट गरिएको भनिएकोमा त्यसको रिकभर गर्न काठमाडौं ल्याइएकोमा अहिलेसम्म त्यसलाई गुपचुप राखिएको छ ।

सो फुटेजमा केही भीआइपीका सन्तान पनि देखिएको चर्चा चलेको थियो । सायद त्यसैका आधारमा पूर्वमन्त्री खड्गबहादुर बिकले बलात्कार र हत्याका घटनामा सरकार सञ्चालकका छोराछोरीको संलग्नता रहेको बताएका हुन सक्छन् ।

सभामा प्रकाण्डले ओली सरकार भ्रष्टाचारमा डुबेको र मन्त्रीहरु भ्रष्टाचारमा तल्लीन रहेको आरोप लगाएका थिए । उनले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई ‘पाखण्डी’ को संज्ञा दिँदै भने प्रचण्डकी बुहारीसमेत रहेकी खानेपानी मन्त्री विना मगरको नाम नलिई उनको मन्त्रालयले मेलम्चीमा अनियमितता गरिरहेको बताएका छन् ।

‘सरकारका मन्त्रीहरुको काम भनेको भ्रष्टाचार र कमिसनको लक्ष राखेर प्रोजेक्ट बनाउने छ । अहिले देशको अर्थतन्त्र चौपट भएको छ । दलाल पुँजीपत वर्गको बिगबिगी छ,’ बिकले भने–‘हिजोका भुईँफुट्टा मान्छेहरु अहिले रातारात करोडपति भएका छन् । हिजोका भुइँफुट्टा नेताहरु रातारात अरबपति भएका छन् ।’

उनले प्रश्न गरे–‘भ्रष्टाचार भएको ओलीजीलाई थाहा छ कि छैन ? रविन्द्र अधिकारी युवा नेता, देशको विकास गर्छु भन्ने पाखण्ड कता गयो ? दशैंमा मेलम्चीको पानी खुवाउँछु भनेर मन्त्रीले भनिराखेका थिए, के भएको छ अहिले ?’

वि.स.०४६ को अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याउने बताए पनि अहिलेसम्म काम नभएको बताउँदै बिकले भने–‘काठमाडौंबासीले अझै २र३ वर्ष पानी खान पाउने स्थिति छैन । समय लम्ब्याउँदै, बजेट थप्दै भ्रष्टाचारको खेल भइरहेको छ ।’

विद्रोही माओवादी नेता बिकले देशका उद्योगी व्यवसायीहरुलाई आफूले भेटेर कुरा गर्दा उनीहरुले गुनासो सुनाउने गरेको बताए । उनले भने–‘देशको आर्थिक अवस्था चौपट भएको छ । देशका उद्योगी व्यवसायी टाट पल्टिएका छन् । सडक छाप भएका छन् ।’

सरकारलाई उनले प्रश्न गरे–‘कहाँबाट आउँछ समृद्धि ? ओलीको घरबाट आउँछ भने त केही छैन । ओलीजीका बुबाको चिहानबाट जन्मन्छ भने त त्यो त हामीले भन्न सक्दैनौं । नत्र समृद्धि नेपाली जनतालाई बेवकुफ बनाउने नाराबाहेक यो सरकारको केही पनि छैन ।’

अनलाइनखबरबाट

फेसबुकबाट कमेन्ट गर्नुहोस्