आमाले दोस्रो बिहे गरेपछी बालक मित्रहाङ दाम्लोमा
पाँचथरको मिक्लाजुङ–५ पाङ्तुवाकी शिला चेम्जोङले दोस्रो बिहे गरेपछि उनका नाबालक छोरा दाम्लोले बाँधेर राखिएका छन् । हजुरबुवा भुवनसिंह सम्बाहाम्फे र हजुरआमाले पाँच वर्षीय मित्रहाङलाई दुई वर्षदेखि ओखलीमा बाँधेर राखेका हुन् । उनका बुवा आशिकराम वैदेशिक रोजगारीमा छन् ।
उनको दायाँ खुट्टा दाम्लोले बाँधिएको छ । उनले दाम्लो खोल्ने प्रयत्न गरिरहन्छन् । नसकेपछि उनी रुँदै चिसो भुइँमा लडिबुडी गर्छन् । बच्चाको मानसिक सन्तुलन ठीक नभएकाले बाँधेर राख्नुपरेको हजुरबुवा र हजुरआमा बताउँछन् । ‘आमाले छाडेपछि बच्चा रेखदेख गर्ने कोही छैन’, हजुरआमाले भनिन्, ‘बच्चालाई बाँधेर हामी बूढाबूढी काममा निस्किन्छौं ।’
रातको समयमा पनि बाँधेरै राख्ने गरिएको उनले सुनाइन् । दाम्लो खोले बच्चा जथाभावी कुद्ने र जे पायो त्यही खाने उनको भनाइ छ । बच्चाको आङ ढाक्ने कपडासमेत छैन । उनी बाँधेकै ठाउँमा फोहोर गर्छन् । उनलाई चिसो भातको डल्ला खान दिने गरिएको छ । बायाँ हातले टिपेर खपाखप खान्छन् ।
‘थालमा दिएको भात बच्चाले खाँदैन’, हजुरआमाले प्लास्टिकमा भातको डल्ला राखिदिँदै भनिन्–‘भुइँमा दिएको मात्र खान्छ ।’ मित्रहाङ बोल्न सक्दैनन् । उनी चिच्याउँछन् अनि रुन्छन् । कसैले खानेकुरा दिए खपाखप खान्छन् ।
अढाई वर्षको हुँदा आगोमा परेपछि नातिको मानसिक सन्तुलन गुमेको हजुरआमाको दाबी छ । ‘नातिको उपचार गर्न सकेनौं’, उनले भनिन्–‘आमाले छाडेपछि हेरचाह गर्ने पनि कोही भएन ।’ धामीझाँक्रीलाई झारफुक गर्न लगाउँदा पनि अवस्था नसुध्रिएको उनले सुनाइन् । ‘अब त माया नै मारिसक्यौं’, उनले भनिन् । उपचार गर्नुको साटो धार्मिक शक्तिपीठ र गुरुकहाँ पु¥याइएको परिवारको भनाइ छ ।
यो घटना सार्वजनिक भए गाउँको इज्जत जाने भन्दै स्थानीय अग्रजले ढाकछोप गर्न खोजेका थिए । यसबारे आफूले थाहा नपाएको गाउँपालिका अध्यक्ष अमर माखिमले बताएका छन् । ‘यस्तो कुरा मलाई थाहा थिएन’, अध्यक्ष माखिमले भने, ‘अहिले बालकलाई बाँधेर राखेको देखियो । सबै मिलेर उनको उद्धार गर्नुपर्छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्