मध्यराती घर जल्दा एकै परिवारका ४ जनाको मृत्यु
गएराति झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित एक घरमा आगलागी हुँदा राति सुतेको अवस्थामा एकै घरका चार जनाको मृत्यु भएको छ । आगलागीमा परी ३५ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका खनाल, चार वर्षीया छोरी चन्द्रा खनाल र चार महिनाको छोरो टिकाराम खनालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता एवं डीएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार उनीहरु घरभित्र सुतिरहेको बेला गएराति पौने ११ बजेतिर आगो लागेको थियो । आगलागीको जानकारी पाएलगत्तै दमकलसहित प्रहरीको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट जस्ताले छाएको दुई तले घर पनि क्षतिग्रस्त भएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको र अन्य क्षतिको एकिन विवरण संकलनको काम पनि भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् ।
परिवारकको सम्पूर्ण सदस्य सुतिरहेको अवस्थामा आगलागी भएको वडा नम्बर ७ का अध्यक्ष नवीन इजमले जानकारी दिएका छन् । आगलागीमा छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल घाइते भएकी छिन् । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको जनाइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्