सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

छोरीको न्याय माग्दा पागल बनाइए निर्मलाका बुवा

न्यायका लागि भिख माग्दा मानिसलाई ‘पागल’ भन्छ यो समाज । छोरी गुमाउनु परेको पीडा आफैमा अकल्पनीय हुन्छ नै, त्यसमाथि पनि छोरीको हत्या पाशविक तवरबाट भएपछि कुन आमाबाबुको मन छिया छिया नहोला र ? यस्तै अवस्थाबाट गुज्रिरहेका छन् अहिले निर्मला पन्तका आमा र बाबु ।

कञ्चनपुरकी दुर्गादेवी र उनका पति यज्ञराजलाई २०७५ सालको साउन १० को दिनले सायद जीवनभर झस्काइरहने छ । हुर्कँदै गरेकी छोरीको बलात्कारपछि भएको पाशविक हत्याको लागि न्याय माग्नु अभिभावकको दायित्व होइन र ?

निर्मलाको आत्माको शान्तिका लागि मात्र होइन निर्मलाको जस्तो हालत अन्य नेपाली छोरीहरुको पनि नहोस् भनेर देशभरका न्यायप्रेमीले साथ दिए पनि । तर हत्यारा सयौं दिन वित्दा पनि पत्ता नलागेपछि निर्मलाका आमाबाबुले कठोर बाटो रोजे अनिश्चितकालीन धर्नाको ।

यही धर्नाबाट जबर्जस्ती उठाइयो निर्मलाका बाबु यज्ञराजलाई र गाडीमा जबर्जस्ती कोचेर काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ल्याइयो । काठमाडौंमा ल्याउँदा उनको खुट्टा ‘फ्याक्चर’ समेत भएको छ ।

धर्नामा बसेपछि अस्वस्थ्य बन्नु अस्वभाविक होइन तर उनलाई मानसिक असन्तुलन गुमाएको अर्थात ‘पागल’को संज्ञा दिएर उपचारका लागि काठमाडौं ल्याइनु थप अन्याय होइन र ? तर न्यूज २४ नेपाल डट टिभीको पत्रकार टोली अस्पताल पुग्दा यज्ञराजले अश्रुमिश्रित स्वरमा भने ‘ न्यायका लागि संघर्ष गर्दा समाजले मलाई जबर्जस्ती पागल बनायो ।’

महाराजगञ्जस्थित शिक्षण अस्पतालको आइसीयु कक्षमा उपचाररत यज्ञराजको बेडमा पुग्दा उनी सामान्य देखिन्थे । तपाइलाई के भएको छ भन्दा उनी जवाफमा छोरी निर्मलाकोे तस्बीर आँखामा झलझली आउने गरेको भन्दै आफुलाई बेचैन हुने र टाउको दुख्ने समस्या भएको बताए । न्याय माग्दा आफुलाई पागल भनिएको भन्दै उनले दुःखेसो पनि पोखे ।

१३ वर्षीया छोरी निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरअघि अनिश्चितकालीन धर्नामा बसेका यज्ञराज पन्तलाई मानसिक समस्या भएको भन्दै आइतबार काठमाडौं ल्याइएको थियो ।

महाराजगञ्ज शिक्षण अस्पतालमा उपचार गराईरहेका ३८ बर्षीय यज्ञराजलाई बर्बराउने गालीगलौज गर्ने लगायत अस्वाभाविक ब्यबहारका कारण मानसिक समस्या भएको अड्कल काटिएको थियो । चिकित्सकले पनि उनलाई मानसिक रोग लागेको नभएर धेरै तनाबबाट हुने ‘याक्युट ट्रान्जिट साइक्रयाट्रिक डीस्अर्डर’ (एटिपीडी ) भएको बताएका छन् ।

यो सामान्य मनोवैज्ञानिक समस्या भएकोले काउन्सिलिङ र सामान्य एन्टीसाइक्याटिक औषधिबाट २ हप्ता मै ठीक हुने शिक्षण अस्पताल मानसिक रोग विभागका प्रमुख प्राध्यापक डाक्टर सरोज ओझाले बताएका छन् ।

छोरीको हत्यारा पत्ता लगाई कारबाहीको मग गर्दै निर्मलाका आमा बाबु लगायत केही अधिकारकर्मी कात्तिक २५ गतेदेखि अनिश्चितकालीन धर्नामा बसेका थिए । धर्नाकै क्रममा यज्ञराजको स्वास्थ्यमा समस्या देखिएको थियो ।

यज्ञराजलाई विगतमा कुनै मानसिक समस्या नभएको भन्दै सरकारले अपराधि पत्ता लगाउन नसक्दा आफ्नो परिवार कै बिचल्ली भएको निर्मलाकी आमा दुर्गादेवीको भनाई छ । छोरी गुमाउनुको पीडा र न्याय नपाउँदाको सकसबीच श्रीमानको स्वास्थ्यमा देखिएको समस्याबाट दुर्गादेवी पनि विक्षिप्त बनेकी छिन् ।

गत साउन १० गते कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । निर्मलाको बलात्कारपछि हत्या भएको चार महिना पूरा भयो, तर अझैसम्म अपराधि पत्ता लाग्ने संकेत देखिएको छैन ।

आफ्नी छोरीको हत्यारा पत्ता लगाइदेऊ भन्दा ‘पागल’ बनाइएका यज्ञराजको यो कठिन ‘यज्ञ’ सार्थक बन्नै पर्छ नभए धेरै निर्मला र धेरै यज्ञहरुले यसरी अन्याय भोगिरहनु पर्नेछ भने पागलको संज्ञा पनि पाइरहनु पर्नेछ ।

यो समाचार पत्रकार रिया भण्डारीले न्युट ट्वाइन्टी फोर नेपाल डट टिभिका लागी लेखेकी हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्