निर्मलाको न्यायका लागी अब डा.केसी पनि मैदानमा
कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछी हत्या भएको ४ महिना बितिसक्दा पनि सरकारले अपराधीलाई पत्ता लगाउन नसकेपछी प्रा. डा. गोविन्द केसीले सरकारलाई तीन हप्ते अल्टिमेटम दिएका छन् ।
यदी तिन हप्तामा अपराधी पत्ता लगाई कारबाही नगरे आमरण अनसन बस्ने उनले बताएका छन् । सोमबार पत्रकार सम्मेलन गरी डा. केसीले साउन १० मा भएको सहमति कार्यान्वयनसँगै निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।
साथीको घर गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । तर, अझैसम्म हत्यारा पत्ता लागेको छैन । सरकारले अपराधीलाई कारबाही गर्नुको साटो ढाकछोप गर्न र जनताको आवाज थुन्न लागिपरेको भन्दै उनले आलोचना गरेका छन् ।
चिकित्सा शिक्षाका लागि आन्दोलन गर्दै आएको तपाईको मागमा नयाँ मुद्दा पनि थपिएको हो भन्ने प्रश्नमा डा. केसीले भने–‘म पनि नेपाली नागरिक हुँ । यो आवाज उठाउनु मेरो नैसर्गिक अधिकार हो ।’ उनले अघि भने, ‘केही अगाडि नै बोल्नुपथ्र्यो । ढिलो भयो भन्ने लाग्छ ।’
उनले १० साउनमा आफूसँग भएको सहमतिअनुसार चिकित्सा विधेयक संशोधन गरेर पास गर्नुपर्ने, गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले दोषी देखाएकाहरुलाई कारबाही गर्नुपर्ने, काठमाडौं विश्वविद्यालयले बढाएको एमबीबीएसको शुल्क फिर्ता गर्नुपर्ने लगायतका माग पनि राखेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्