सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

श्रमिकलाई सोध, त्यहाँ छ सरकारः प्रधानमन्त्री ओली

प्रतिपक्षि नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेरै देशमा सरकार भएको अनुभुति नभएको भन्दै सरकार कहाँ छ भनि प्रश्न गरेको केही दिनपछी प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको जवाफ दिएका छन् । जवाफमा ओलीले सरकार काम गर्न व्यस्त रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्–‘कसैले सरकार कहाँ छ ? कसैले जुम्रा पनि मारेन, सिन्को भाँचेन भन्ने गरेका छन् । यो सरकार जुम्रा मार्न बनेको होइन । देश विकास गर्न बनेको हो ।’

सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले अघि भने–‘मजदुरलाई सोध्नुस् सरकार कहाँ छ ? त्यहाँ तपाईले जवाफ पाउनुहुन्छ ।’ केही दिनमा मेलम्ची आउने र त्यसले सरकार कहाँ छ भन्ने जवाफ दिने उनले बताए ।

‘काठमाडौंको सडक बढारिन्छ, धोइन्छ । अनि थाहा पाउनुहुन्छ सरकार कहाँ छ’ उनले भने, ‘कलंकी नागढुंगा सडक हेर्न जानुस्, त्यहाँ छ सरकार ।’ प्रधानमन्त्री ओलीले जता फर्कियो, त्यता सरकार देख्न थालेपछि विरोध गर्नेहरु आफैं चुप लाग्ने बताएका छन् ।

सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा तामझाम बढी भएको भन्दै आलोचना भएको छ । तर, नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने–‘यो तामझाम मैले देखिनँ भन्नेहरुलाई देखाउन हो । थाहा पाउन भनेर हो ।’ उनले अबका कार्यक्रमहरुमा बाजा समेत बजाइने बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्