सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

निर्मलाका हत्यारा सरकारको संरक्षणमाः डा.केसी

चार महिना बितिसक्दा पनि निर्मला पन्तका बलत्कारी र हत्यारालाई पहिचान गरी कारबाही गर्न नसकेको भन्दै सरकारलाई अपराधी पत्ता लगाउन ३ हप्ते अल्टिमेटम दिएका प्रा. डा. गोविन्द केसीले सरकारले नै निर्मला पन्तका हत्यारालाई लुकाएको आरोप लगाएका छन् ।

उनले सरकारलाई छिटो अपराधीको पहिचान गरि पक्राउ गर्न माग गरेका छन् । निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सुरु गरिएको धर्नामा आफनो ऐक्यबद्धता जाहेर गर्न मंगलबार महेन्द्रनगर पुगेका उनले आफू न्यायका लागि आएको बताएका छन् ।

निर्मला पन्तको परिवार र अधिकारकर्मी लगायतले सुरु गरेको अनिश्चितकालीन धर्नामा केसीले मंगलबार धर्ना स्थलमै पुगेर ऐक्यवद्धता जनाएका हुन । निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई तीन साता (पुस २ सम्म) को अल्टिमेटम दिएको भोलिपल्ट डा. केसी महेन्द्रनगरस्थित अनशनस्थल पुगेका हुन् ।

हत्यारा पक्राउ नगरे पुस ३ गतेदेखि आमरण अनशन बस्ने डा. केसीको चेतावनी छ । गत कात्तिक २५ गतेदेखि छोरी हत्यामा संलग्नको पहिचान र कारबाहीको माग गर्दै निर्मलाको बुबाआमा लगायत आफन्तले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटमा अनिश्चितकालिन २४ घण्टे धर्ना गरेका छन् ।

धर्नाकै क्रममा निर्मलाका बुबाको मानसिक अवस्था बिग्रिएपछी उनलाई उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । हत्या गरिएकी निर्मला पन्तका बुवा यज्ञराज पन्तको एम्बुलेन्समा ल्याउने बेलामा खुट्टासमेत भाँचिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्