सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अल्पायुमै बावुआमा गुमाएपछी ७ बालबालिकाको बिचल्ली

अल्पायुमा नै आमाबुवा गुमाएपछि सल्यानमा ७ बालबालिकाको विचल्ली भएको छ । सल्यानको कालिमाटी गाउँपालिका २ किचेनखोलाका शसिक विक र शसिकला विकको मृत्यु भएपछि सात बालबालिकाको विचल्ली भएको हो ।

जब आमाबुवाको मृत्यु भयो अनि सम्पुर्ण जिम्मेवारी १८ वर्षीय कासिराम विकमाथि थपियो । काशीरामका १६ वर्षीय भीमबहादुर विक, १४ वर्षीय झुपलाल विक, ११ वर्षीय दुर्गालाल विक, १० वर्षीय रोशन विक, ७ वर्षिया शोभा विक र ४ वर्षीय दीपक विक गरी ६ भाईबहिनी रहेका छन् ।

तीन वर्ष अघि बुवा र एक महिना अघि आमा गुमाएका कासिरामले आफूसहित सात भाइबहिनीहरूको जिन्दगी उकास्ने कोसिस गरिरहेका छन् । कासिरामले आफ्नै गाउँमा दैनिक मजदुरी गरी आफ्ना साना भाई बहिनीहरूको जसोतसो पेट भरिरहेका छन् ।

२०७४ सालमा परेको पानीसँगै आएको हावाहुरीले बास बस्दै आएको घर पनि आधा भत्काइदिएको छ । त्यही भत्किएको घरमा सात भाइबहिनीले रात काट्दै आइरहेका छन । सम्पत्तिको नाममा भत्किएको घर, ३ रोपनी पाखो र खेतवारी र २ वटा बाख्राबाहेक अरू केही छैनन् ।

आमा बुवाको मृत्युपछि साना भाइबहिनीलाई पालनपोषण गर्न निकै कष्टकर भएको अभिभावक बनेका १८ वर्षीय काशीरामले बताउछन् । उनी भन्छन्–‘आर्थिक अवस्था कमजोर हुँदा बिरामी भएका बुवालाई बचाउन सकिएन, बुवा बितेको तीन वर्षपछि आमाले पनि हामीलाई छोडेर जानुभयो । साना भाइबहिनीलाई के खुवाएर पालु साह्रै अप्ठेरो परेको छ ।’

गाउँघरमा दैनिक मजदुरी गरेर साँझबिहानको छाक टार्दै आइरहेको बताउँदै कासिरामले भने–‘साझँ बिहान काम गरेर छाक टारुँ कि भाइबिहिनीहरूलाई विद्यालयमा पठाऊँ साह्रै समस्यामा परेको छु ।’

आफु पढ्न त कहाँको कुरा, घरको खर्च आफ्नो संरक्षक नहुँदा विद्यालय जानका लागि कापी कलमको खर्च जुटाउन समेत नसकेको उनले दुखेसो पोखे । गहभरी आँसु लिँदै खर्च जुटाउन नसक्दा भाईबहिनीहरू शिक्षाको उज्यालो किरणबाट बञ्चित हुनुपरेको काशीराम बताउछन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्