सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

चुलोचौको छाडेर आमाहरु फुटवल खेल्न मैदानमा

मैदानमा फुटबल पनि थियो, रेफ्री पनि थिए तर फुटबल खेल्ने खेलाडीजस्ता कोही थिएनन् । तर पनि बेनिघाट रोराङ गाउँपालिकाको चन्द्रोदय माविको खेलमैदानमा फुटबल खेलको तयारी हुँदै थियो । कुर्था सलवार र पाइन्टसँग जुत्तामोजा लगाएका आमाहरु मैदानमा प्रवेश गरेपछि मात्रै थाहा भयो आमाहरुबीच फुटबल प्रतिस्पर्धा हुँदै रहेछ ।

भात–भान्सा र घरायसी धन्दामा अल्मलिरहने ‘आमा’ हरुले फुटबल खेलमा प्रतिस्पर्धा गरे भन्ने सुन्दा, सुन्नेलाइ पनि अनौठो लाग्न सक्छ । तर यही अनौठोकोबीच धादिङको बेनिघाट रोराङ गाउँपालिकामा भने महिला (आमाहरु)ले फुटबल खेलेर दर्शकहरुलाइ भरपुर मनोरञ्न दिलाएका छन् ।

लैङिगक हिंसा र महिला अधिकारको क्षेत्रमा काम गरिरहेको संस्था सहयात्री समाजको सहयोगमा बेनिघाट रोराङ गाउँपालिकाले लैङिगक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारी जनचेतना अभिवृद्धि र आमाहरुको आत्मविश्वास बढाउनको लागि दुइ आमा समुहबीच फुटबल प्रतिस्पर्धा गराएको हो ।

आमाहरुबीच फुटबल खेलको प्रतिस्पर्धा भइरहँदा गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी र उपाध्यक्ष देवीप्रसाद सिलवालले दर्शक दिर्घामा बसेर आमाहरुलाइ बल हान्न हौसला दिइरहेका थिए । पुरानो सामाजिक परम्परा तोड्दै महिलाहरुपनि हरेक क्षेत्रमा सक्षम छन् भन्ने बुझाउन आमा समुहहरुबीच फुटबल खेलाइएको गाउँपालिका अध्यक्ष डल्लाकोटीले बताए ।

फुटबल यसकारण पनि अझ रोचक बन्यो कि प्रतिस्पर्धा २ वटा गाउँपालिकाका आमाहरुबीच भएको थियो । बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ को आमाहरु र गजुरी गाउँपालिका वडा नं ५ पिडाको आमाहरु प्रतिस्पर्धामा उत्रिएका थिए । प्रतिस्पर्धामा बेनिघाटका आमाहरुले ३–२ गोलअन्तरले गजुरीका आमाहरुलाइ हराए ।

५० मिनेट खेलाइएको खेलमा आमाहरुले फुटबल खैल्दै गर्दा बच्चा रोएपछि मैदानबाट बाहिर निस्किएर केही आमाहरुले बच्चालाइ दुध चुसाएको दृश्यले सबैको मन छोएको थियो । केटाकेटीले खेल्ने गरेको फुटबल आफुले पनि खेल्न सक्छु भनेर कहिल्यै नसोचेको भएपनि मैदानमै उत्रिएर फुटबल खेल्दा साह्रै खुसी लागेको बेनिघाट रोराङ ५ कि ५३ वर्षिय धना सुनारले बताइन् ।

३ वटा बच्चाकी आमा कमला सुनार पनि फुटबल खेल्नको लागि निकै उत्साहित थिइन् । कमलाले भनिन, ‘बिहान घरको धन्दा सकाएर फुलबल खेल्न आएकी हुँ ।’ महिलाहरुले अवसर पायो भने गर्न सक्छन भन्ने सन्देश दिनको लागि आमाहरुबीच फुटबल खेलाइएको सहयात्री समाजकी कार्यक्रम संयोजक सुनिता मैनालीले बताइन् ।

आमाहरुको फुटबल प्रतिस्पर्धा गराउनु अघि सहयात्री समाजले ५ दिन फुटबलका सामान्य ज्ञान र खेल खेल्दा हुनसक्ने सम्भावित दुर्घटना कम गराउनको लागि प्रशिक्षण दिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS