सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विकीको ज्यान जानेगरी भएको ग्याङ फाईटको रहश्य

काठमाण्डौको नयाँ बानेश्वरस्थित सुकुम्वासी टोलमा ५ दिन अघि एक जनाको ज्यान जानेगरी भएको ग्याङ फाईट १५ सय रुपैयाँका बिषयमा विवाद हुँदा भएको रहश्य खुल्न आएको छ । सो ग्याङ फाईटमा सुकुम्बासी टोलका विकी लिम्बुको मृत्यु भएको थियो भने अनिल श्रेष्ठ घाइते छन् ।

घटनाको अनुसन्धानमा खटिएका एक अधिकारीका अनुसार घटना भएकै दिन पक्राउ परेका मनिष बानियाँले सञ्जिव परियारलाई १५ सय रुपैयाँमा लागूऔषध नाइट्रोभेट विक्री गरेका थिए । त्यसको रकम उनले फिर्ता दिएका थिएनन् ।

त्यही रकम लिनका लागी मंसिर ८ बिहान मनिषसहितको समूह सञ्जिवको घरमा पुगेको थियो । ‘त्यो १५ सय रुपैयाँ लिनलाई ऊ घरमा गएको थियो’, एक अनुसन्धान अधिकारीले भने, ‘त्यहाँ पैसा नपाएपछि उसले कोठाबाट ग्यास उठाउन खोजेको थियो । तर, धेरै मान्छे जम्मा भएपछि पैसा फिर्ता दिने सञ्जीवले आश्वासन दिएका थिए ।’

यद्यपि, उनले रकम भने फिर्ता गरेका थिएनन् । र, दिउँसो पुनः सोही विषयलाई लिएर दुई समुहबीच झगडा भयो । त्यसक्रममा मनिष र तारकेश्वरका महेश परियारले खुकुरी प्रहार गर्दा विकीको मृत्यु भएको थियो ।

खुकुरी प्रहार गर्ने दुई जनालाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सोही दिन पक्राउ गरेको थियो । मनिष लागूऔषध र ज्यान मार्ने उद्योगमा २ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।

घटनाको अनुसन्धानका क्रममा महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले झगडामा संलग्न थप ४ जनालाई पनि पक्राउ गेको छ । पक्राउ पर्नेमा सञ्जीव परियार, फूर्वा शेर्मा, रोशन राई र भैरव बुढाथोकी छन् ।

उनीहरुमाथि मुलुकी अपराध संहिता अन्तरगतको अभद्र व्यवहार कसुर अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको बानेश्वर वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्लले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्