रुकुममा बन्दुकको थुप्रो, कहाँबाट आयो यत्रो बन्दुक ?
पुथाउत्तरगंगा गाउँपालिका १ र २ मैकोटवासीले बुधबार ५५ नाल भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वमा बुझाए । स्थानीयस्तरमा गठित वन तथा वन्यजन्तु समितिले गाउँबाट संकलन गरेको बन्दुक समिति संरक्षक लक्ष्मीप्रसाद पुन, अध्यक्ष अमरधन पुन र सचिव धनीमान पुनले प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई एकमुष्ठ हस्तान्तरण गरेका हुन् ।
बुझाईएका ५५ मध्ये ४७ नाल सद्दे अवस्थामा छन् भने ८ नाल बन्दुक काम नलाग्ने अवस्थामा छन् । पर्यटनमार्फत गाउँको विकास गर्न भरुवा बन्दुक बाधक भएको निष्कर्षसहित गाउँलेले प्रशासनलाई बन्दुक बुझाएका हुन् । लामो समयको पहलपछि गाउँमा भएका बन्दुकहरु जिल्ला प्रशासनमा बुझाउन सफल भएको समिति संरक्षक पुनले बताएका छन् ।
गाउँमा बन्दुक राख्दा देशको एक मात्र ढोरपाटन सिकार आरक्षमा चोरीसिकारी बढ्ने र त्यसको प्रत्यक्ष असर पर्यटन प्रवर्द्धनमा परिरहेको महसुस भएपछि बन्दुक संकलन अभियान थालिएको उनको भनाइ छ ।
स्थानीयकै सक्रियतामा अभियान सफल भएको र मैकोटवासीको अभियानले जैविक विविधताको सुरक्षाको साथै भावी पुस्ताको लागि महत्वपूर्ण टेवा पुग्ने भनाइ प्रजिअ शर्माको छ । उनले जिल्लालाई नै अवैध हतियारमुक्त बनाउने अभियान जारी रहेको बताएका छन् । जिल्ला प्रशासनले प्राप्त बन्दुक अभिलेखसहित जिल्ला प्रहरीमा राखेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्