ड्राइभरले खोलिदिए राजदुत लक्की शेर्पाका चर्तिकला
अष्ट्रेलियाका लागी नेपाली राजदूत लक्की शेर्पाले मानव तस्करी गरेको खुलासा भएको छ । राजदूत शेर्पाले नेपालबाट अष्ट्रेलियामा नेपालीहरूसँग मोटो रकम लिएर लैजाने गरेको खुलासा भएको छ ।
अष्ट्रेलियाको राजधानी क्यानबारामा रहेको नेपाली राजदूतावासमा चालकको काम गर्न गएका ओङ्छु शेर्पाले राजदूत लक्की शेर्पाले मानव तस्करी गर्दै आएको आरोप लगाएका छन् ।
‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रममा पत्रकार रवि लामिछानेसँग स्काइपमा प्रत्यक्ष कुरा गर्दै ओङ्छु शेर्पाले राजदूत लक्की शेर्पाको एक–एक पोल खोली दिएका हुन् ।
मानव तस्करीबाट आएको पैसाबाट अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले काठमाडौंको नयाँपाटीमा दुई रोपनी जग्गा खरिद गरेकी छिन् । ओङ्छु शेर्पाले लक्की शेर्पाले खरिद गरेको जग्गाको कागजपत्र र तिरेको पैसा आफूसँग पनि रहेको दाबी गरेका छन् ।
लक्की शेर्पाले सबै कारोबार ओङ्छु शेर्पामार्फत नै गर्दै आएकी थिइन् । ओङ्छु शेर्पामार्फत सिङ्गापुरका तेम्वा शेर्पाका भाई दावा शेर्पालाई अष्ट्रेलिया लैजाने भनेर १४ लाख रुपियाँ राजदूत लक्की शेर्पाले लिएको दाबी गरिएको छ ।
लक्की शेर्पाले ५–६ जनालाई पनि अष्ट्रेलिया लैजाने भनेर मोटो रकम उठाएको आरोप उनले लगाएका छन् । सन् २०१७ क्यानबरा दूतावासमा ड्राइभरको रुपमा काम गर्न पुगेका चालक ओङ्छु शेर्पामार्फत नै लक्की शेर्पाले मानव तस्करी गर्दै आएको कुराकानीका बेला खुलेको छ ।
लक्की शेर्पासँग आर्थिक विषयमा तनाव भएपछि ओङ्छु शेर्पाले क्यानबाराको नेपाली राजदूतावास छाडेका छन् । वैदेशिक रोजगारमा ठगी गरेको अभियोगमा राजदूत लक्की शेर्पाले ओङ्छु शेर्पाकी पत्नीलाई छ महिनादेखि जेलमा थुनाएर राखेकी छिन् ।
लक्की शेर्पाको निर्देशनमा मानव तस्करीको पैसा ओङ्छु शेर्पाकी पत्नीको खातामा छ लाख देखिएको ओङ्छु स्वयंले स्वीकार गरेका छन् । ओङ्छु शेर्पाले आफूसँग पनि राजदूत लक्की शेर्पाले अष्ट्रेलियामा मानव तस्करी गरेको पैसा रहेको बताएका छन् ।
राजदूत शेर्पाविरुद्ध ओङ्छु शेर्पाले अष्ट्रेलियाको फेडरल पुलिसमा मुद्धा दर्ता गराएका छन् । तर, कुटनीतिक पदको पावर लगाएर लक्की शेर्पा बचेको ओङ्छु शेर्पाले बताएका छन् ।
मानव तस्करीमा राजदूत लक्की शेर्पाले लिएको ६४ लाख रुपियाँ पनि ओङ्छु शेर्पाले पीडितहरूलाई तिरेका छन् । सबै कारोबार ओङ्छु शेर्पामार्फत हुने भएपछि लक्की शेर्पा बचेकी छिन् ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको मानव तस्करीका कारण पीडामा परेका ओङ्छु शेर्पाले जेलमा छ महिनादेखि रहेकी आफ्नी पत्नीलाई छुटाइदिन अपील गरेका छन् ।
तत्कालीन माओवादी केन्द्रको कोटाबाट अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस भएकी लक्की शेर्पाका बारेमा संसदीय सुनुवाई हुने बेला पनि विवाद भएको थियो । उनी पुष्पकमल दाहाल प्रचण्ड निकटको मानिन्छिन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्