विवादास्पद युपिएफको सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन
विवादास्पद युनिभर्सल पिस फेडरेसनको आयोजनामा काठमाण्डौमा भइरहेको एसिया प्यासिफिक सम्मेलन शनिबारबाट काठमाडौंमा सुरू भएको छ । प्रारम्भदेखी नै विवादीत सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।
ह्यात होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका राजनेता तथा प्रतिनिधिहरुको सहभागिता छ । आयोजक संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ)ले नेपालका सबै राजनीतिक दलका नेताहरु, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेत कार्यक्रममा निम्तो दिएको छ ।
कार्यक्रममा १५ सय विदेशी अतिथी सहभागी हुने बताइएको छ । सम्मेलन आयोजक संस्था युनिभर्सल पिस फेडरेसनले देशभरका बालबालिकालाई जम्मा गरेर तालिमका नाममा ‘क्रिस्चियानिटी’को सैद्धान्तिक र व्यवहारिक अभ्यास गराउनेदेखि युवाहरुलाई विदेश पठाएर माग्न लगाउनेसम्म गरिरहेको पाइएपछि यो सम्मेलन विवादित बनेको छ ।
‘विश्वका गम्भीर चुनौतीहरूमाथि सम्बोधनः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्य–मान्यता’ नाराका साथ सम्मेलन आयोजना गरिएको छ । गरिबी, आतंकवाद, विकास, सुशासन र सांसदहरूको भूमिका, अन्तर–धार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चार माध्यमको भूमिका, विश्वव्यापी शान्ति प्रक्रिया, शान्ति परियोजना लगायतका विषयमा सम्मेलनको बिभिन्न सत्रमा छलफल हुने आयोजकले जनाएको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २१ औँ शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने बताएका छन् । सम्बोधनमा प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि, सञ्चारका क्षेत्रमा प्रगति भए पनि गरीबी, अशिक्षा, जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रका चुनौतीहरुको सामना गरिरहनुपरेको उल्लेख गर्दै अन्तरराष्ट्रिय व्यापार, संस्कृति आदिका माध्यमबाट एशियाली मूल्य र मान्यताका साथ सहकार्य बढाउन आह्वान गरेका छन् ।
जलवायु परिवर्तन विकास र मानवीय अस्तित्वकै लागि चुनौती भएकाले हिमालहरुको पग्लने क्रम रोक्ने उपायहरुबारे सोच्नुपर्नेमा पनि उनले जोड दिएका छन् । प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियाको मूलभूत सफलता, संविधान निर्माण र निर्वाचनहरुको चरणपछि मुलुक विकास र समृद्धिको चरणमा रहेको पनि अवगत गराएका छन् ।
नेपाल सरकार तथा सङ्घीय संसद् नेपालको सहयोगमा युनिभर्सल पिस फेडरेसन, इण्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिक्स (आइक्याप), इण्टरनेशनल एशोसिएसन अफ पार्लियामेन्ट फर पिस (आइएपिपी) लगायत संस्थाहरुको आयोजनामा दुई दिनसम्म जारी रहने सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्र÷सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुनाहरु सहभागी छन् ।
सम्मेलनका लागि म्यान्मारका स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा लगायत विशिष्ट अतिथि सहभागी छन । सुकी र सेनको नेपालको औपचारिक भ्रमणसमेत भएकाले उनीहरुले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली लगायतसँग भेटवार्ता गरिसकेका छन् । ती मुलुक र नेपालबीच अलग–अलग द्विपक्षीय वार्ता भई सम्झौतासमेत भइसकेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्