सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सरकार धर्म प्रचारमा, जनता न्यायका लागी सडकमा

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका लागि न्याय माग गर्दै आज माइतीघरमा प्रदर्शन भएको छ । सरकार एनजिओको कार्यक्रम (एसिया प्यासिफिक समिट) मा व्यस्त भइरहेका बेला प्रदर्शनकारीहरुले निर्मला पन्तका हत्यारालाई तत्काल सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले बलात्कारीलाई फाँसी दे, निर्मलालाई न्याय दे लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टर र प्ले कार्ड बोकेका छन् । उनीहरुले शान्ति सुरक्षा र न्याय दिन नसक्ने गृहमन्त्रीको राजिनामा समेत माग गरेका छन् ।

 

उता, प्रधानमन्त्री ओलीसहितका उच्च नेताहरु अन्तराष्ट्रिय गैर–सरकारी संस्थाद्वारा आयोजित हायात होटलमा जारी एसिया प्यासिफिक समिटमा सम्बोधन तथा पाहुनाको सत्कार र भेटघाटमा व्यस्त थिए ।

प्रदर्शनमा विभिन्न राजनीतिक दल सम्बद्ध व्यक्ति तथा स्वस्फूर्त जनसहभागिता रहेको छ । जसमा विबेकशील साझा पार्टीका उज्वल थापा, रन्जु दर्शना र नयाँ शक्ति पार्टीकी मानुसी यमी भट्टराई लगायत रहेका छन् । प्रदर्शन स्थलमा सुरक्षाका लागि बाक्लो मात्रामा प्रहरी खटाइएको छ ।

हिजो मात्रै प्रहरीले निर्मलाको न्याय लागि पोस्टर टाँस गर्दा १२ जनालाई पक्राउ गरेको थियो । टाँस्दै गरेका पोस्टर प्रहरीले च्यातिदिएपछि चौतर्फी आक्रोश र आलोचना सृजना भएको छ । गत साउन १० गते साथीको पढ्न गएकी निर्मलाको लास भेटिएको थियो तर चार महिना बढी भइसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्