सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रेस स्वतन्त्र छ तर जथाभावी लेख्न पाईँदैनः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्र्तराष्ट्रिय मञ्चमा उभिएर स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने नेपाल सरकारको मनसाय नरहेको बताएका छन् । स्वीटजरल्याण्डको डावोसमा जारी विश्व आर्थिक मञ्चको ४९ औं बैठकको ‘सेपिङ द फ्युचर अफ डेमोक्रेसी’ सत्रमा उनले भने ‘नेपाल लोकतान्त्रिक देश हो । जहाँ प्रेसमाथि प्रतिबन्ध लगाउने कुनै गुञ्जायस छैन ।’

प्रेस स्वतन्त्र छ भन्दैमा कसैको पारिवारिक, व्यक्तिगत जीवन वा प्रतिष्ठामा आघात र्पुयाउने समाचार लेख्न भने नहुने प्रधानमन्त्री ओलीको भनाई थियो । समाचार लेख्ने बेलामा अरुको प्रतिष्ठा, संवेदनशीलताको विषयमा पनि ख्याल गर्नुपर्ने उनको भनाई थियो । उनले भने–‘लोकतन्त्र भनेको प्रेसका लागि मात्रै होइन, सबै नागरिकका लागि हो ।’

राष्ट्र प्रमुख महिला रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण जनता सार्वभौम रहेको सम्बोधनमा बताएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्–‘लोकतन्त्रमा सञ्चार माध्यमले आलोचना गर्नु सामान्य कुरा हो ।’ जनतालाई सूचित र शिक्षित गर्नमा मिडियाको ठूलो भूमिका रहेको बताउँदै उनले थपे, ‘तर पीत पत्रकारिता गर्नु राम्रो होइन । जनता प्रेस जिम्मेवार भएको हेर्न चाहन्छन् ।’

समाजिक सञ्जालले युवा पुस्तालाई मिसलिड गरिरहेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले सभ्य र विकसित समाज निर्माणका लागि हामी गम्भीर भएर लाग्नु आवश्यक रहेकोमा जोड दिएका थिए ।

प्रधानमन्त्री ओलीले मंगलबार ‘स्ट्राटेजीक आउटलुक अन साउथ एसिया’ सत्रलाई सम्बोधन गर्दै अन्तराष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए । मञ्चको ४९ औं बैठक शुक्रबार सम्पन्न हुँदैछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्