सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हतियार बुझाउन विप्लवलाई ३५ दिन समयसिमा

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार सदैव तयार रहेको स्पष्ट पारेका छन् ।

विप्लव समूहले आपराधिक र हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले उसका त्यस्ता गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने–‘यसका लागि रातो कार्पेट ओछ्याएरै बिन्ती गर्छौँ तर उनीहरुको अडान हेर्दा त्यस्तो देखिएन र सरकार यो निर्णयमा पुगेको हो ।’

उनले वार्ताका लागि पटक पटक तयार भए पनि वार्तामा नआएको सो समूहका गतिविधिलाई सरकारले सूक्ष्म रुपमा अध्ययन गरी त्यसका आधारमा पार्टीलाई नभई समूहका हिंसात्मक र सङ्गठित प्रकारका आपराधिक र संविधान विपरीतका गतिविधिलाई प्रतिबन्ध लगाइएको स्पष्ट पारेका छन् ।

प्रमुख प्रतिपक्षी दलले पनि सरकारको यो निर्णयलाई स्वागत गरिसकेका अवस्थामा सत्तारुढ पार्टीभित्र यसबारे छलफल भएको र थप छलफल हुने पनि जानकारी दिएका थिए । विप्लव समूहले बिहिबार नेपाल बन्द आह्वान गरेको थियो । रासस

फेसबुकबाट कमेन्ट गर्नुहोस्