सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मलाई मारेर क्रान्ति हुँदैन, नयाँ बाटो खोजः प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन् । दाहालले भने–‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवले म (प्रचण्ड) लाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे । टिम पनि खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट आज बिहान मलाई सूचना दिइयो ।’

दाहालले भने–‘के भएको होला साथीहरूलाई ? मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्ने हो र ?’ योङ कम्युनिस्ट लिगले आयोजना गरेको सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रमलाई बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै दाहालले आफूलाई मार्ने योजना बनाएकामा ‘विप्लव’ प्रति दया लागेको बताएका थिए ।

विप्लव समूहले नक्कल मात्र गरेर हिँड्न खोजिरहेको उनको भनाइ थियो । दाहालले भने, ‘साथीहरूले मेरै स्कुलको मात्र नक्कल गरेको देखिरहेको छु । साथीहरू नयाँ बाटो खोज्नुस् । प्रचण्डकै नक्कल गरेर प्रचण्ड बन्छु भन्ने सोच्नुभयो भने त्यो भ्रम हो । भ्रमले परिणाम दुर्भाग्यपूर्ण आउँछ ।’

प्रचण्ड बन्न सजिलो नभएको भन्दै उनले एकै समयमा अर्को प्रचण्ड बन्न नसक्ने पनि जिकिर गरे । दाहालले भने–‘प्रचण्डले यसो र्गयो अब म अर्को प्रचण्ड बन्छु भनेर हिँडेको सुनेको छु । सजिलो छैन प्रचण्ड बन्न ।’ उनले आफूलाई जनताले नै प्रचण्ड बनाइदिएको बताएका छन् ।

दाहालले प्राप्त उपलब्धि उल्ट्याएर मुलुकलाई कता लैजाने हो निधार खुम्चाएर सोच्न ‘विप्लव’ लाई आग्रह गरेका छन् । उनले भने–‘अहिले २०५२ सालको जस्तो अवस्था छैन । राजतन्त्र छैन, महिला, आदिवासी जनजातिमा समानुपातिक समावेशी छ । ठूलो राजनीतिक परिवर्तन हाम्रै कारणले आएको हो । यसलाई उल्ट्याएर निरंकुशतातिर लैजाने हो त ? निधार खुम्चाएर सोच्नुहोस् ।’

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई ‘विप्लव’ समूहले मार्ने षड्यन्त्र गरेको भन्ने विषयमा प्रहरी मुख्यालयले कुनै जानकारी नभएको स्पष्ट पारेको छ । प्रहरी प्रवक्ता उत्तम सुवेदीले दाहाललाई ‘विप्लव’ ले मार्ने षड्यन्त्र गरेको भन्ने सूचना प्रहरीसमक्ष नआएको बताएका हुन् ।

त्यस्तै दाहालले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग पुनर्गठन गर्ने सहमति भएको बताएका छन् । प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र आफूबीच आयोग पुनर्गठनका विषयमा सहमति भइसकेको दाहालले बताएका हुन् ।

तीन नेताबीच मंगलबार बेलुकी भएको छलफल यस्तो निचोडमा पुगेको थियो । आयोग पनुर्गठन गर्ने, त्यसका निम्ति सिफारिस कमिटी बनाउन सरकारलाई सुझाव दिने र छिटोभन्दा छिटो प्रक्रिया निष्र्कषमा पु¥याउने विषयमा सहमति बनेको उनको भनाइ छ ।

‘सबैलाई क्षतिपूर्ति या परिपूरण दिने, पीडितका परिवारका एक सदस्यलाई रोजगारी दिने विषयमा पनि हामीबीच राजनीतिक सहमति जुटिसकेको छ,’ दाहालले भने । उनले जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा ठूलो सहिद स्मारक बनाउने विषयमा छलफल चलिरहेको बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्