सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा समस्या

प्रधानमन्त्री केपी शर्मा ओली एक्कासी अस्वस्थ भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराएर सोमबार मात्र स्वदेश फर्किएका थिए ।

विमानस्थलमा सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया नदिएका उनले ‘म ठीक छु’ भन्दै ट्वीट गरेका थिए । तर आज बिहीबार बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको अस्वस्थताका कारण स्थगित भएको छ । बैठकका लागि नेताहरु बालुवाटारसमेत पुगिसकेका थिए ।

नेकपाका एक नेताले दिएको जानकारी अनुसार ओली बैठकस्थलमा नै आएनन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माथिल्लो तलामा गएर आराम गरिरहेका ओलीलाई भेटेका थिए । एकजना नेताले भने–‘ज्वरो आएको छ र जीउ दुखेको छ भन्नुभएको छ ।’

KP Sharma Oli
तस्विरः प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीको स्वास्थ्यमा सामान्य समस्या देखिरहँदा बैठक बस्नु उपयुक्त नदेखिएकाले बैठक शुक्रबार अपरान्ह ३ बजे बस्ने गरी स्थगित गरिएको नेकपामा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रवक्ता श्रेष्ठले भनेका छन्–‘बैठक औपचारिक रुपमा प्रवेश नै भएन । सामान्य सचिवालय सदस्यहरुले सांगठनिक एकीकरणको कामको बारेमा छलफल मात्रै भयो । बैठक बस्दा प्रधानमन्त्रीको समस्यामा थप समस्या आउन सक्ने भएकोले हामीले नै बैठक स्थगित गर्रौ भनेका हौं ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्