सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको तोचिगीमा नेपालीले गरे नगर सरसफाई

जापानको तोचिगीमा बस्ने नेपालीहरुले तोचिगी नेपाली कम्युनिटीको पहलमा नगर सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् । नगर सरसफाई कार्यक्रम डिसेम्बर १२ आईतबारका दिन बिहान ८ बजेदेखी १० बजेसम्म गरिएको हो ।

तोचिगी नेपाली कम्युनिटीका सदस्य तथा एसएमएस हाकेनका सञ्चालक सुरेन्द्र अधिकारीका अनुसार तोचिगी स्टेशनदेखी तोचिगीसी नगर कार्यालय(स्याकुस्यो)सम्मको मुल बाटो र सहायक बाटोको सरसफाई गरिएको हो । अधिकारीका अनुसार तोचिगी स्टेशनबाट ३ ओटा समुह बनाई तिन फरक–फरक बाटो हुँदै नगर कार्यालय (स्याकुस्यो) सम्मको दुरीमा सरसफाई गरिएको हो ।

Tochigi Nepali community1
सरसफाई कार्यक्रममा सहभागी कम्युनिटीका सदस्य फोहोर उठाउँदै

नगर सरसफाई कार्यक्रममा बिभिन्न पेशा, व्यवसाय र कामका सिलसिलामा तोचिगीसी आसपास बस्ने दुई दर्जन भन्दा बढी नेपालीको सहभागीता रहेको थियो । सरसफाई कार्यक्रममा समन्वय गर्न तोचिगी नगर कार्र्यालय र तोचिगीकेनको कार्यालय अन्र्तगतका विदेश विभागका प्रतिनिधी साथै अन्य जापानी नागरिकको पनि सहभागीता रहेको थियो ।

Tochigi
सरसफाई कार्यक्रममा सहभागी कम्युनिटीका सदस्य फोहोर उठाउँदै

बिगत चार बर्षभन्दा लामो समयदेखी बर्षमा २ पटक नियमित रुपमा सरसफाई कार्यक्रम गर्दै आएको तोचिगी नेपाली कम्युनिटीले यसबर्षको दोस्रो पटकको कार्यक्रम डिसेम्बर १२ का दिन गरेको हो । यसअघि गत २०१९ को अक्टुबर १२ र १३ तारिखमा जापानमा गएको बिनासकारी ताईफुका बेला पनि तोचिगी नेपाली कम्युुनिटीले प्रसंशनिय रुपमा स्वयंसेवकिय कार्य गरेको थियो ।

Tochigi
संकलित फोहोरलाई व्यवस्थापनका लागी वर्गिकरण गरिँदै

परदेसमा रहे पनि आफु जहाँ बस्यो त्यहीँ आफ्नो घर हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै आफु बसेको ठाउँ र समुदायप्रतिको आफ्नो दायित्व निर्वाह गर्नुपर्छ भन्ने हेतुले नेपाली समुदाय नियमित रुपमा सरसफाई लगायतका स्वयंसेवकिय कार्यमा सहभागी हुँदै आएको तोचिगी नेपाली कम्युनिटीका अर्का एक सदस्य भुवन गैरेले बताएका छन् ।

सरसफाई कार्यक्रममा गैर आवासिय नेपाली संघ जापानको तोचिगी समितिका संयोजक मन्दिप क्षेत्री लगायत तोचिगीमा रहेका अन्य बिभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिको पनि सहभागीता रहेको थियो । तोचिगी नेपाली कम्युनिटीले स्वयंसेवकिय रुपमा बिभिन्न सामाजिक काम गरेको सम्मान स्वरुप तोचिगीकेनको कार्यालयबाट सम्मान पत्र समेत प्राप्त गरिसकेको छ ।

Tochigi
सरसफाई कार्यक्रम समापनपछी तस्विर खिचाउँदै

समाचारमा प्रस्तुत तस्विरहरु पत्रकार अनिल शाहीले एभरेष्टवालका लागी कैद गरेका तस्विरहरु हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्