प्रचण्डको खुलासा; पार्टी र प्रधानमन्त्री आलोपालो
सरकार गठन र पार्टी एकिकरणको बिषयलाई लिएर बामगठबन्धनका बिषयमा अनेक टिकाटिप्पणि र अड्कलबाजी भईरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अव बन्ने सरकार र पार्टीको नेतृत्व आलोपालो हुने विषयमा सहमती भएको खुलासा गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिले सरकार गठनको विषयमा अन्तिम टुंगो लगाउने भएपनि सरकारको नेतृत्व भने आलोपालो गर्ने सैद्धान्ति सहमति भएको खुलासा गरेका हुन । ‘को अघि र को पछि तथा कति समय’ भन्नेबारे आवश्यक छलफलपछि टुंगो लाग्ने प्रचण्डको भनाइ छ ।
प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकिकरण र सरकार गठनका बिषयमा शनिबार एकता संयोजन समितिको बैठक बसेर टुंगो लगाउने बताएका छन ।
उनले संयोजन समिति गठनका बेला चुनावपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष पदमा आलोपालो प्रणाली अपनाउने भद्र सहमति भएको पुनः स्मरण गराएका थिए । शनिबार नै काठमाडौं फर्किएर सरकार निर्माणको विषयमा वामगठबन्धन भित्र लचिलो भएर अन्तिम निर्णय समेत गरिने उनले स्पश्ट पारेका छन ।
त्यस्तै अध्यक्ष प्रचण्डले राष्ट्रियसभा समावेशी चरित्रको हुनुपर्ने बताएका छन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने–‘राष्ट्रिय सभाको विषयमा सहमतिको प्रयास भइरहेको छ ।’ राष्ट्रिय सभा र प्रतिनिधि सभा मिलाएर संघीय संसद बन्ने बताउँदै प्रचण्डले संघीय संसदमा एकतिहाई महिला सदस्य चाहिने संवैधानिक प्रावधान रहेको बताएका छन ।
राष्ट्रिय सभा गठन गर्ने विधि बहुमतीय प्रणालीभन्दा एकल संक्रमणीय प्रणाली बढी समावेशी हुने उनको भनाइ थियो । उनले संविधानमा प्रष्ट शब्दमा कुनै एक प्रणाली उल्लेख नभएको हुँदा अहिले राष्ट्रिय सभा गठनमा केही जटिलता देखिएको बताएका छन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई फोन गरेर बधाइ दिनु बाहेक अन्य विषयमा कुरा नगरेको प्रस्ट पारेका छन । अध्यक्ष प्रचण्डले भने–‘म मात्रै होइन प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई पनि बधाइ मात्र दिएको वुझेको छु ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्