सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा उडान अनुमति माग्न जाँदै नेपाली टोली

नेपाली जहाज जापानमा उडाउने चर्चा चलेको लामो समयपछी नेपाल एयरलाइन्सको टोली उडान अनुमतिका लागि पहल गर्न जापान जाने भएको छ । नेपाल एयरलाइन्सले जापानमा उडान गर्न पाउने सहमती भएपनि जापानले नेपाल एयरलाइन्सलाई अझै उडान भर्न अनुमति दिएको छैन ।

अब जापान जाने निगमको टोलीले नेपालको हवाई सुरक्षाको अवस्था, आफ्नो व्यवसायिक योजना, क्षमता र जापान उडानको सम्पूर्ण तयारीबारे त्यहाँको उड्डयन क्षेत्रको नियमनकारी निकायलाई जानकारी गराउने भएको छ ।

निगमका सह–प्रवक्ता शैलेस कंसाकारले नयाँ वाइडबडी विमानमार्फत जापानमा उडान भर्ने योजना बनाएको जानकारी दिएका छन । तर, जापानले तत्कालै नेपाल एयरलाइन्सलाई उडान अनुमति दिन खोजेको छैन ।

कम्पनीको सबै अवस्थाहरु अध्ययन गरेर मात्रै उडान भर्न दिने योजनामा जापान देखिएको छ । निगमले नयाँ दुई वाइडबडी अन्नपूर्ण र मकालुलाई जापानसहित कोरिया र साउदीको रियादमा पनि उडाउने योजना तयार पारेको छ ।

अहिले वाइडबडीलाई निगमकै पुराना गन्तब्यहरुमा उडाइँदैछ । नयाँ तीन वटै गन्तब्यमा निगमले सीधा उडान गर्ने योजना बनाएको छ । निगमले जापानको नारिता एयरपोर्टमा उडान भर्ने गरी तयारी गरेको हो ।

कोरियाको सियोलमा इन्चोनसम्म पनि सीधा उडानकै योजना छ । साउदीको रियाद पनि वाइडबडीले तय गर्ने नयाँ गन्तब्य हुनेछ । कोरियाको टोली भने नेपाल एयरलाइन्स र नेपाली हवाई क्षेत्रको सुरक्षा प्रवन्ध बुझ्न छिट्टै नेपाल आउँदैछ । निगमका नयाँ वाइडबडी दिनमा १२ देखि १४ घण्टासम्म उडाउन मिल्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्