सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बलत्कारको रिपोर्ट गलत दिने डाक्टरलाई कारबाही

बलात्कारसम्बन्धी एक घटनामा तथ्य तलमाथि पारी स्वास्थ्य जाँच प्रतिवेदन तयार गर्ने चिकित्सकलाई कारबाही गर्न महान्यायाधीवक्ता नेतृत्वको एक समितिले सोमबार सिफारिस गरेको छ ।

उक्त समितिले जनकपुर अञ्चल अस्पतालका दोषी चिकित्सकलाई आवश्यक कारबाहीका लागि अनुसन्धान प्रतिवेदन र कागजातसहित नेपाल मेडिकल काउन्सिललाई पठाउने निर्णय गरेको हो ।

महान्यायाधिवक्ता अग्नि खरेलको अध्यक्षतामा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, कानुन र गृह सचिव, नायब महान्यायाधिवक्ता र नेपाल प्रहरीका महानिरीक्षक संलग्न समितिले धनुषाको जनकनन्दनी २ बस्ने करण मण्डलले एक महिलामाथि गरेको बलात्कार मुद्दाका सन्दर्भमा यस्तो सिफारिस गरेको हो ।

उक्त मुद्दामा जनकपुर अञ्चल अस्पताल र सिरहा अञ्चल अस्पतालबाट प्राप्त परीक्षण प्रतिवेदन फरक परेको, समयमा उपलब्ध नभएको र विश्वसनीयता समेत नभएकाले अपराध अनुसन्धानमा समेत बाधा पुगेको निष्कर्ष निकालेको छ ।

साथै समितिले मुलुकभरका अस्पतालमा भएका घाउजाँच केस फाराम, शारीरिक जाँच प्रतिवेदन, शव परीक्षण प्रतिवेदन लगायत स्वास्थ्य परीक्षण प्रतिवेदन तुरुन्त अनुसन्धान अधिकारीलाई उपलब्ध गराउनका लागि स्वास्थ्य मन्त्रालयलाई लेखी पठाउने निर्णय समेत भएको महान्यायाधिवक्ता खरेलले जानकारी दिएका छन ।

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा २२ को उपदफा ४ मा परीक्षण प्रतिवेदन ३ दिनभित्रै अनुसन्धान अधिकारीलाई उपलब्ध गराउनुपर्ने उल्लेख भए पनि कार्यान्वयनमा ढिलाइ भएको छ ।

त्यस्तै बलात्कारसम्बन्धी मुद्दा, अपहरण वा शरीर बन्धकसम्बन्धी कसुर लगायतको अदालतमा निरन्तर सुनुवाइ हुने भएकाले त्यसको प्रभावकारी कार्यान्वयनका लागि नेपाल प्रहरी र सबै सरकारी वकिल कार्यालयलाई लेखी पठाउने निर्णयसमेत समितिले गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्