क्रिस्चियन भाईरसका कारण दशैँ मनाउन छाडे चेपाङले
भिरालो पाखो बारी, नजिकै जंगल भीरपहरा र आसपासमा स–साना झुपडी । विभिन्न जिल्लाका यस्तै वस्तीमा गुजारा चलाइरहेका चेपाङ समुदायलाई दशैंले खासै छोएको छैन । कारण हो धर्म परिर्वतन । भूमि, नदी र प्रकृतिको पूजा गर्ने चेपाङ समुदायमा धर्मपरिवर्तन भुसको आगो झै फैलिएको छ ।
गरीबी, अशिक्षा र अज्ञानताको फाइदा उठाउँदै क्रिश्चियन बनाउने लहर चलेको छ । धर्म परिवर्तनसँगै चेपाङका मौलिक पर्व र संस्कृतिहरु हराउँदै जान थालेका छन् । चेपाङ समुदायको उत्थानमा क्षेत्रमा काम गर्दै आएका केपी किरण शर्माले अधिकांश चेपाङहरु क्रिश्चियन भइसकेको जानकारी दिए ।
आफू पहिलोपटक चेपाङ समुदायमा जाँदा र अहिले आकाश जमिनको फरक आएको उनको अनुभव छ । उनी भन्छन्–‘चेपाङका वस्ती–वस्तीमा चर्चहरु बनेका छन् । पैसा दिने, बालबच्चा पढाइदिने, खानेकुरा दिने लोभ देखाएर चेपाङहरुमाथि इमोसनल ब्याकमेलिङ गरिएको छ ।’
विनाशकारी भूकम्पपछि चेपाङ वस्तीहरुमा धर्मप्रचारको महाअभियान नै चलेको शर्माले दाबी गरेका छन् । उनको दाबीमा सहमत छन् पूर्वसभासद गोविन्दराम चेपाङ । झण्डै ८० प्रतिशत चेपाङहरु क्रिश्चियन बनेको उनले बताए ।
पूर्वसभासद गोविन्द चेपाङले भने–‘हामीले परम्परादेखि मानेको प्रकृति धर्म हो, हाम्रा आफ्नै मौलिक संस्कृति छन् तर, पछिल्लो समय पैसाको बलमा हाम्रो धर्म–संस्कृतिमाथि प्रहार भएको छ ।’
पूर्वी चितवनको भण्डारा, लोथर, बीरेन्द्रनगरतिरका पादरीहरु बाइवल बोकेर चेपाङ वस्ती छिर्ने गरेका छन् । चेपाङ बालबालिकालाई राखिएका केही संरक्षण केन्द्रमा क्रिश्चियन धर्मको प्रचार र प्रार्थना गराइने गरिएको पाइएको छ ।
नेपाल चेपाङ संघका अध्यक्ष जितेन्द्र चेपाङले आफ्नो समुदायमा धार्मिक जागरणका लागि न्वागी पर्वमा बिशेष कार्यक्रम गर्ने गरेको जानकारी दिएका छन । धर्म मात्र नभएर चेपाङ समुदायको मौलिक भाषा पनि अतिक्रमणमा परिरहेको छ । नयाँ पुस्ता मातृ भाषाप्रति बेखबर बन्दैछन् ।
पुरानो पुस्ताले चेपाङ भाषा बोले पनि युवाहरुले नेपाली भाषा मात्र जानेका छन् । यसको पनि कारण छ । विद्यालय जाने उमेरका चेपाङ बालबालिकाहरु शहरी क्षेत्रमा खुलेका छात्रावासमा छन् । उनीहरुलाई विभिन्न नाममा खोलिएका संरक्षण केन्द्र र विद्यालयका होस्टलमा ल्याएर राखिएको छ ।
सानै उमेरमा परिवारसँग टाढिएकाले मातृ भाषा सिक्नै पाउँदैनन् । विद्यालयमा नेपाली भाषामा मात्रै पढाई हुन्छ । चेपाङहरुको मातृभाषामा पढाई हुने अवस्था छैन किनकी उनीहरुको आफ्नो लिपी छैन ।
राज्यले भाषा संरक्षणमा कुनै चासो नदिँदा आफ्नो समुदायको भाषा नै हराउने खतरा देखिरहेका पूर्वसभासद गोविन्दराम चेपाङको गूनासो छ । नेपाली पाण्डुलिपीलाई नै चेपाङहरुले पनि प्रयोग गरिरहेका छन् ।
सरकारको लगानीमा २०५७ सालदेखि चितवनको शक्तिखोरमा चेपाङ छात्रावास स्थापना गरिएको छ । यहाँ चितवनका मात्र ३२ जना चेपाङ बालवालिकाहरु पढदै आएका छन् ।
कालिका नगरपालिकाको खोलेसिमलमा रहेको विन्देश्वरी छात्रावासमा २५ जना, गामवेशी चेपाङ संरक्षण केन्द्रमा १३२, नवोदय विद्यालय वेल्सीमा २५०, अन्तोदयमा २५० बालबालिकाले संरक्षण पाएका छन् ।
गामवेसी चेपाङ संरक्षण केन्द्रमा प्रमुख केपी किरण शर्मा विद्यालयमा कक्षा १ देखि ५ सम्म चेपाङ भाषाको एक पिरियड पढाउने बिषयमा कुरा चलाएको बताउँछन् । चेपाङहरुको शब्दकोष समेत आइसकेकोले पढाउन सहज हुने उनको भनाइ छ ।
चेपाङ भाषाको वर्ण पहिचान भएको भएता पनि शब्दकोश निर्माण हुन सकेको थिएन । २०२४ सालमा न्युजिल्याण्डका नागरिक रोस कलीले मकवानपुरको काँकडा गाविस–४ माइसिराङ निवासी भविकन चेपाङसँग मिलेर लामो खोज–अनुसन्धानपछि करिव सात हजार शब्दको चेपाङ शब्दकोश तयार पारेका छन् ।
गरिबीले थिचिएको चेपाङ जाति
सीमान्तकृत चेपाङको दरिद्रताका कथाहरु सञ्चार माध्यममा खुब बेचिन्छन् । कतिपयले चेपाङको गरिबीमै ‘ग्ल्यामर’ देख्छन् । तर, यो समुदायको जीवनस्तरमाथि उठाउन ठोस पहल भएको छैन । एकाध चेपाङ परिवार त अहिले पनि ओडारमै बस्छन् ।
थोरै अन्न अनि वनजंगलबाट कन्दमूल, वनस्पति, फलफूल बटुलेर गुजारा चलिरहेको छ । गिठ्ठा, भ्याकुर, चित्राफुंगा, चिउरी लगायत कन्दमुल चेपाङ बस्तीमा प्रचलित छन । ६६ प्रतिशत परिवारलाई आफ्नो खेतीपातीबाट ६ महिना पनि खान पुग्दैन ।
सानै उमेरमा बिहे गर्ने, बग्रेल्ती सन्तान जन्माउनाले आमा र बच्चाको स्वास्थ्य स्थिति निकै कमजोर पाइन्छ । चरम गरिबीका कारण कतिपयको शरीर ढाक्ने लुगासमेत नहुँदा निर्वस्त्र बस्छन् ।
राजनीतिक पहुँच नहुँदा चेपाङ वस्तीमा पूर्वाधार निर्माण हुन सकेको छैन । नागरिकता नहुँदा उनीहरुले पुख्र्यौली आवादी गरेको जग्गाजमिनको स्वामित्व पाएका छैनन् ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा चेपाङ जातिको जनसंख्या ६८ हजार ३ सय ९९ रहेको छ । नेपालका २६ जिल्लामा चेपाङ जातिको बसोबास छ । सबैभन्दा धेरै चितवनमा २८ हजार ९ सय ८९ जना छन् ।
चितवनको साविक सिद्धि गाविसलाई चेपाङहरुको राजधानी मानिन्छ । यहाँ ९० प्रतिशतभन्दा बढि चेपाङ छन् । चितवनको कुल जनसंख्यामा चेपाङ सातौं स्थानमा छन् । यस्तै चेपाङको जनसंख्या मकवानपुरमा १९ हजार २ सय ३३, धादिङमा १४ हजार ४ सय ९२, गोरखामा ३ हजार ४ सय ५४ रहेको छ ।
सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । चेपाङहरु राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शृंखला वरिपरिका रैथाने वासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा उनीहरुको घना बसोबास छ ।
चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक बन्धनले बाँधेको छ । उनीहरुको जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित हुन्छ । उनीहरूको मूलथलो गाउँघर, खोलानाला, भीरपहरा आदिको नामाकरण चेपाङ भाषाबाटै गरिएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्