प्रहरीले पैसा लुकायोः जुवाडे, व्यापारीले ढाँटेः प्रहरी
कानुन अनुसार बन्देज गरिएको जुवातास खेल्ने समुुहलाई रंगेहात पक्रँदै आएको पुलिसले जुवाखालबाट बरामद रकम लुकाउने गरेको रहस्य खुल्न आएको छ । प्रहरीले जुवाडेको खालबाट बरामद गरेको रकम लुकाएर न्युनतम रकम मात्रै सार्बजनिक गर्ने गरेको रहश्य जुवाडेहरुले खोलेका हुन ।
प्रहरी र स्वयं जुवाडे बाहेक अरु साक्षि प्रमाण नहुने हुँदा जुवाडेको कुरा गलत हो वा प्रहरीले पैसा लुकाएको हो त्यो भने उनीहरु नै जानुन् तर जुवाखालमा बरामद गरिएको रकम प्रहरीले लुकाउने गरेको साँचो हो भने यो कानुन बिरुद्ध र प्रहरीको नैतिकतामाथीको प्रश्न हो ।
केही दिन अघि तास खेल्दै गरेको अवस्थामा विराटनगरबाट पक्राउ परेका पाँच उद्योगी व्यवसायीहरुले प्रहरीले बरामद गरेको रकमको निकै थोरै मात्रै सार्बजनिक गरेको बताएका हुन् । जुवा खालमा कम्तीमा १० लाख भएकोमा प्रहरीले १ लाख ९० हजार मात्रै बरामद गरेको भनेर सार्बजनिक गरेको सुन्दा आफुहरु आश्चर्यमा परेको जुवाडे उद्योगीले बताएका छन् ।
उनीहरुसँग जिल्ला प्रशासन कार्यालय मोरङले जनही १२÷१२ हजार रुपैयाँ धरौटी माग गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश केसीको इजलासले बुधबार उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । प्रहरीले उनीहरु विरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ को जुवा ऐन अन्तर्गत मुद्दा चलाएको थियो ।
प्रहरीले तास खेल्दै गरेको अवस्थामा गत आइतबार बिहान उद्योगी व्यवसायी ६९ वर्षीय चम्पालाल राठी, ५० वर्षीय जीवन रिजाल, ५१ वर्षीय मुकेशकुमार अग्रवाल, विमल अग्रवाल र ३८ वर्षीय हंशराज जैनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये राठीको स्वस्तिक जुट मिल संचालनमा छ । जीवन रिजाल र मुकेश अग्रवालको साझेदारीमा चिउरा मिल र तोरी तेलको मिल संचालनमा छ । विमल अग्रवाल धान चामलको कारोवार गर्छन् । जैन व्यवसायी हुन् ।
प्रहरीले तास जुवा खेल्दै गरेको अवस्थामा यति धेरै उद्योगी व्यवसायीलाई विराटनगरबाट एकै पटकमा पक्राउ गरेको यो नै पहिलो हो । यसअघि उद्योगी व्यवासायीका घरमा बाह्रै महिना तास जुवा चल्ने गरेको सूचना पाए पनि प्रहरीले त्यसलाई बेवास्ता गर्ने गरेको थियो ।
मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित उद्योगी चम्पालाल राठीको गोदाममा तास खेल्दै गर्दा सबै जना पक्राउ परेका थिए । प्रहरी आएको थाहा पाउनासाथ केही उद्योगी व्यवसायी भने फरार बनेका थिए । प्रहरीले घटनास्थलबाट १७ बुक तास र एक लाख ९० हजार एक सय ४० रुपैयाँ रकम समेत बरामद गरिएको सार्वजनिक गरेको छ ।
जुवाडे उद्योगी व्यवसायीले भने प्रहरीले आफूसँग भएको रकमभन्दा थोरै मात्र सार्वजनिक गरेर अन्य रकम लुकाएको आरोप लगाएका छन् । व्यवसायीहरुले कम्तिमा पनि १० लाख रुपैयाँ आफूहरुसँग भएको बताउँदै आएका छन् ।
उनीहरुका अनुसार तासको खालबाटै पक्राउ गर्ने क्रममा प्रहरीले धमाधम आफ्नो खल्तीमा रकम राखेका थिए । ‘प्रहरीले बरामद गरेको पैसा एकमुष्ट जम्मा पार्दा कम्तीमा १० लाख रुपैयाँ पुगेको थियो,’ पक्राउ परेका एक व्यवसायीले भने, ‘भोलिपल्ट एक लाख ९० हजार रुपैयाँ मात्रै बरामद भयो भनेर सार्वजनिक गर्दा हामी अचम्ममा पर्र्यौ ।’
मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठ नेतृत्वको टोली छापा मार्न पुगेको थियो । डीएसपी श्रेष्ठले भने प्रहरीले खालबाट बरामद गरे जति नै पैसा देखाएको बताएका छन् ।
श्रेष्ठले रंगेहात पक्राउ परेका व्यवसायीले घटनालाई अन्यत्र मोड्ने प्रयास स्वरूप यस्तो आरोप लगाएको बताउँदै उनीहरूकै अगाडि जति रकम बरामद भएको हो सबै सार्वजनिक गरिएको बताए ।
उनले बरामद भएको एक लाख ९० हजार रूपैयाँ सार्वजनिक गरिएको बताउँदै प्रहरीलाई विवादमा तानेर रंगेहात समातिएका व्यापारीले चोख्खिने कोशिसमा यस्तो आरोप लगाएको पनि उल्लेख गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्