दुखद खवर ! कोरियामा खाना खाएर सुतेका दिपकको मृत्यु
इपिएस प्रणालीमार्फत करिब ५ महिना अघि मात्रै दक्षिण कोरिया गएका एक नेपालीको मृत्यु भएको छ । उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा मृत्यु भएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिएका छन् ।
कोरियाको स्ट्रबेरी फर्ममा काम गर्दै आएका उनी मङ्गलबार राति खाना खाएर सुतेका थिए । उनी पाँच महिनाअघि मात्र भाषा परीक्षा पास गरी कोरिया गएका थिए ।
मृतक कार्कीको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ । शव परीक्षण प्रतिवेदन पश्चात मात्र मृत्युको कारण खुल्ने काउन्सिलर बास्तोलाले जानकारी दिएका छन् ।
नेपाली युवाका लागि आकर्षक गन्तव्यका रुपमा रहेको दक्षिण कोरियामा विभिन्न कारणले मृत्यु हुनेको सङ्ख्या बढेको छ । गत महीनामात्र पाँचथर फिदिम नगरपालिकाका राजेश तुम्बापोको काम गर्दागर्दै मेसिनमा च्यापिएर मृत्यु भएको थियो ।
पछिल्लो समय कोरिया गएका नेपालीहरुमा डिप्रेसनका कारण आत्महत्या, औद्योगिक तथा सडक दुर्घटना र सुतेकै अवस्थामा मृत्यु हुने नेपालीको सङ्ख्या डरलाग्दो रुपमा बढिरहेको छ ।
सन् २००७ देखि हालसम्म १६० नेपालीको विभिन्न कारणबाट मृत्यु भइसकेको छ । रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत हाल कोरियामा करीब ३६ हजार नेपाली औद्योगिक तथा कृषि क्षेत्रमा काम गर्दै आएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्