सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तेल चोरीको नालिबेली, चोरका सम्धी नै मन्त्री भएपछी

अत्यन्त सुरक्षित र विश्वसनीय मानिएको ट्यांकर लकिङ प्रणाली लागू गरिएको ट्यांकरबाटै डिजल चोरी भएपछि नेपाल आयल निगमको अनुसन्धान टोलीले छानबिन शुरु गरेको छ । मंसिर ६ गते बरौनीबाट विराटनगर आएको को १ ख ५९६५ नम्बरको ट्यांकरबाट करिब २ हजार ५ सय लिटर डिजल हराएपछि निगमले अनुसन्धान टोली विराटनगर पठाएको हो ।

उपनिर्देशक अञ्जना पोखरेल नेतृत्वको तीन सदस्यीय अनुसन्धान टोलीले छानबिन गरिरहेको छ । बरौनीबाट आएको सो ट्यांकरमा डिजल घटेको थाहा पाउने बित्तिकै २४ घण्टे स्पष्टीकरण सोधेर ट्यांकर चालक, ढुवानीकर्तालाई विराटनगर स्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयले कारवाही गरेको छ ।

कारवाहीमा घटेको डिजलको दोब्बर जरिवाना, चालक धर्मेन्द्र स्वर्णकारलाई ६ महिना आयल निगम प्रवेश निषेध सहित निलम्बन र ढुवानीकर्ता सुखदेव सिंहको सबै ट्यांकरसंग ढुवानी सम्झौता रद्द गरिएको नेपाल आयल निगम विराटनगरका डिपो प्रमुख दिनेश यादवले जानकारी दिएका छन् ।

यस्तो रहेछ तेल चोरीको वास्तविकता
भारतीय आयल कर्पोरेसनका बरौनी र सिलिगुडीस्थित डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने सबै ट्यांकरमा अत्याधुनिक सुरक्षा ताल्चा जडान भएको चार महिना पूरा भइसकेको छ ।

ट्यांकरमा अत्याधुनिक सुरक्षा ताल्चा जडान गरिएपछि अब तेल चोरी रोकिने निगमको विश्वास थियो । तर ताल्चा लगाउन थालेको चार महिना पूरा नहुँदै लक गरिएको ट्यांकरबाटै तेल चोरी भएको छ ।आइओसीको बरौनी डिपोबाट अत्याधुनिक ताल्चा लगाएर ल्याइएको एक ट्याङ्कलरीबाट २ हजार ५ सय लिटर डिजल चोरिएको तथ्य बिहिबार पत्ता लागेको हो । विराटनगर ल्याइएको तेल वीचमै चोरी भएको पाइएको हो ।

ट्यांकरमा लगाइएको तालाको साँचो निगमका डिपो प्रमुख र आइओसीका अधिकारीसँग मात्रै हुन्छ । डिपो प्रमुख र चालकबीच मिलेमतो नभई तेल निकाल्नै सकिदैंन् । साँचोको अर्को साँचो बन्न सक्तैन । कम्पनीले बनाएकै साँचोबाट ताल्चा खोल्नुपर्ने हुन्छ । विराटनगरमा डिपो प्रमुख छन् दिनेश यादब । उनी निगमका विवादित व्यक्ति हुन् ।

यसरी पत्ता लाग्यो तेल चोरी भएको
स्रोतका अनुसार प्रबन्धक यादवले डिपोमा डिप लिन ‘सेटिङ गरेर’ खटाएका कर्मचारी वीरेन्द्र मिश्र मंसिर ६ गते झापाको चारआली गएका थिए । झापाका डिलरले निगमको विराटनगरस्थित डिपोबाट कम तेल आउने गरेको गुनासो बारम्बार गरेपछि बाध्य भएर प्रबन्धक यादवले मिश्रलाई झापा खटाएका थिए ।

मिश्रको अनुपस्थितिमा को १ ख ५०६५ नम्बरको ट्यांकरको डिप लिने जिम्मा अर्का कर्मचारी पुण्य पौडेलले गरे । प्रबन्धक यादव र चालकबिचको ‘सेटिङ’ पौडेललाई थाहा थिएन । उनले ट्यांकरको डिप लिँदा डिजल ८३ सेन्टिमिटर अर्थात् २५ देखि २६ सय लिटर कम देखियो ।

डिजल कम भएको देखिनेबित्तिकै पौडेलले सबैलाई थाहा हुने गरी कराए । प्रबन्धक यादव तुरुन्त डिपो पुगे । सामसुमका लागि कर्मचारीलाई थामथुम पार्न खोजे तर यादवको व्यवहारसँग दिक्क भएका कर्मचारीले घटना सेलाउन दिएनन् । उनीहरूले केन्द्रीय कार्यालय, स्थानीय प्रशासन लगायत सम्बन्धित निकायमा तत्काल खबर गरे ।

त्यसैले प्रबन्धक यादवले आफूसित भएको साँचो ट्याङ्कर चालकलाई दिएर तेल चोरी गर्न दिएको स्रोत बताउँछ । स्रोतका अनुसार यादव विराटनगरमा प्रबन्धक भएर आएपछि आइओसीबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्यांकरको तौल गराउन छाडिएको छ ।

ट्यांकरको तौल गराएपछि आइओसीको डिपोमा देखिएको जत्तिनै वजन छ कि छैन तथा तेल कम भएको छ वा छैन भन्ने तथ्य तुरुन्त पत्ता लाग्छ । तर यादव आएपछि २०७५ साउनको पहिलो सातादेखि नै ट्यांकरले तौल गर्नुपर्ने नियम तोडिएको छ ।

त्यस्तै निगमभित्र रहेको क्यालिबे्रसन टावर पनि दुई महिनादेखि बिग्रिएको छ । आइओसीको डिपोमा पेट्रोलियम पदार्थ भरेर ल्याउने ट्यांकरले क्यालिब्रेसन टावरमा तौल गर्नुपर्छ । त्यसपछि डिप लिने काम गरिन्छ । तेल कम आएको तथ्य पत्ता नलागोस् भनेर क्यालिब्रेसन टावर बिगार्न लगाएको निगम स्रोतको दाबी छ ।

आइओसीको बरौनी डिपोबाट तेल भरेर विराटनगर डिपोमा ल्याइएका कुनै पनि ट्यांकरको तौल लिने काम बिहिबार नगरिएको निगमको स्रोतले बतायो । प्रबन्धक यादवले डिजल कसरी कम आयो भन्ने कुरामा आफू अनविज्ञ रहेको र दोषीलाई कारबाही गरिसकेको बताएका छन् ।

यादवका अनुसार डिजल कम रहेको ट्यांकर शुकदेव सिंह नामका व्यक्तिको हो । ढुवानीकर्ता पनि उनै हुन् । उनलाई २ हजार ५ सय लिटर डिजल कसरी कम भयो भनेर बिहिबार नै २४ घण्टे पत्र काटिएको छ । साथै उनलाई तीन महिनासम्म ढुवानीमा बन्देज लगाउने निर्णय गरिएको छ ।

ढुवानीकर्ता सिंहका ३० वटा ट्याङ्कलरी छन् । त्यस्तै ट्यांकरका चालक भारतको बथनाहा ठेगाना भएका धर्मेन्द्र स्वर्नकारलाई नेपाल भरिका निगमका डिपोमा छिर्न र ट्यांकर चलाउन ६ महिनाका लागि प्रतिबन्ध लगाइएको छ ।

प्रबन्धक दिनेशले ढुवानीकर्ता सिंहलाई कम भएको डिजलको २ गुणा बढी रकम तिराउने र उनका नाममा भएका अन्य पिडिओ पनि रोक्का गर्ने निर्णय आफूले गरेको जानकारी दिएका छन् ।

उनले क्यालिब्रेसन टावर बिग्रिएको स्वीकार गरे । ट्यांकरमा रहेको तेलको डिप लिने कार्य गरिने हुँदा क्यालिब्रेसनमा तौल गर्नु वा काँटा गर्नुको कुनै अर्थ नहुने दिनेशले बताए । डिप लिएर क्रस चेक गरिने हुँदा काँटा नगरिएको उनको भनाइ थियो ।

प्रबन्धक यादवले आफूलाई पानीमाथिको ओभानो देखाउन खोजे पनि ‘तेल कम’–का बारेमा जाँच गर्न निगमको केन्द्रीय टोली विराटनगर आइपुगेको छ । निगमको केन्द्रीय कार्यालयका निर्देशक अञ्जना पोखरेलको नेतृत्वमा इन्जिनियर प्रमेश पुडासैनी र सहायक प्रबन्धक राजकुमार रेग्मी रहेको तीन सदस्यीय टोलीले घटनाको छानबिन गरिरहेको छ ।

सम्धी मन्त्री भएपछि सोर्स लगाएर विराटनगर डिपोमा सरुवा
दिनेश यादव यसअघि पनि विराटनगरस्थित निगमको प्रदेश कार्यालयमा प्रबन्धकका रूपमा सरुवा भई आएका थिए । २०७३ भदौमा विराटनगर सरुवा भई आएका उनले व्यापक अनियमितता गरी पेट्रोलियम पदार्थकै कृत्रिम अभाव गराएपछि २०७३ फागुनमा रातारात सरुवा हुनुपरेको थियो ।

यसैबिच प्रबन्धक यादवका नातामा सम्धी पर्ने नेता मातृका यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएपछि दिनेशको चुरीफुरी बढ्यो । त्यसैले विराटनगरमा रहँदा गएको इज्जत बटुल्न मन्त्री यादवको सोर्स लगाएर दिनेश फेरि त्यही पदमा आइपुगेका हुन् । यादवले चालकसित मिलेर पेट्रोलियम पदार्थमा अनियमितता गरेका कारण निगमको विराटनगरस्थित डिपोको ‘घाटा’ धेरै बढेको स्रोत बताउँछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्