जापानमा असार १९ बाट नेपाल एयरलाइन्स उड्दै
नेपाल एयरलाइन्सले असार १९ देखी सुरु गर्ने काठमाडौंबाट जापानको ओसाका उडानको भाडा निर्धारण गरेको छ । जापानको नागरिक उड्डयन नियमक निकायले स्वीकृत गरेको भाडादर नै लागू हुने नेपाल एयरलाइन्सले जानकारी दिएको छ ।
असार १९ गतेदेखि उडान शुरु गर्ने घोषणा गरेको एयरलाइन्सले भाडा ४५ हजार लिने भएको छ । दुईतर्फी भाडा ७७ हजार हुने एयरलाइन्सले जानकारी दिएको छ । भाडादर स्वीकृत भएको र अन्य कागजी प्रक्रिया मिलाउने वित्तिकै टिकेटिङको काम पनि शुरु गरिने एयरलाइन्सका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिएका छन् ।
एयरलाइन्सले काठमाडौंबाट जापानको ओसाका हप्तामा तीन ओटा सिधा उडान गर्ने बताएको छ । असार १९ देखि उडान शुरु हुने एयरलाइन्सले जानकारी दिएको छ । एयरलाइन्सले लामो गन्तव्यमा उडाउने भन्दै ल्याएको वाइडबडीले गन्तव्य नपाउँदा छोटो दुरीकै गन्तव्यमा आधा क्षमतामा उडिरहेका छन् ।
जापान, कोरिया, साउदी अरबमा उडान गर्ने व्यापारिक योजनाअनुसार जहाज ल्याइएको भए पनि कोरियाले उडान अनमुति दिन अस्वीकार गरिदिएको छ भने साउदी अरबमा पनि प्रक्रिया अघि बढ्न सकेको छैन । पछिल्लो समय एयरलाइन्सले जापानसँगै चीनमा पनि प्रक्रिया अघि बढाएको थियो ।
जापानको नारितामा सिधा उडान गर्ने भनिए पनि एकाएक एयरलाइन्सले ओसाका उडानको प्रक्रिया अघि बढाएको थियो । राजधानी सहर टोकियो भन्दा निकै टाढा भएकाले ओसाका व्यावासायिक रुपमा सफल हुनेमा प्रश्न उठाइएको छ ।
नेपाल एयरलाइन्सले १३ वर्षदेखिको जापान उडान सन् २००७ मा बन्द गरेको थियो । चीनको सांघाइबाट ओसाकाको कान्साइ अन्तराष्ट्रिय विमानस्थलमा उडान गरेको एयरलाइन्सले जहाज अभावमा बन्द गरेको थियो । त्यसपछि जापानसँग प्रत्यक्ष हवाइ सम्पर्क नहुँदा भाडा महंगोमात्र होइन यात्रा पनि झन्झटिलो भएको भन्दै गुनासो आउने गरेको छ ।
सिधा हवाइ सम्पर्क टुटेपछि जापानबाट नेपाल आउने पर्यटकको संख्यामा समेत ओरालो लागिरहेको छ । नेपाल जापान बीचको द्विपक्षीय हवाइ सम्झौताअनुसार नेपालका एयरलाइन्सहरूले जापानको हानेदा एयरपोर्ट बाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउने छन् ।
सम्झौताअनुसार अबदेखि हप्ताको १४ तथा दैनिक २ उडान नेपालबाट जापानका विभिन्न सहरमा गर्न मिल्ने छ । नेपाली एयरलाइन्सहरूले जापानका विमानस्थलबाट अमेरिका बाहेकका अन्य देशका विमानस्थलमा पनि उडान गर्नसक्ने छन् ।
नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ । सम्झौता भएपनि कतिपय देशहरूले नेपाली एयरलाइन्सलाई उडान अनुमति दिन आनाकानी गरिरहेका छन् । भारतले हिमालय एयरलाइन्सलाई लामो समयदेखि नयाँ दिल्ली उड्न दिएको छैन । त्यस्तै चीनले नेपाल एयरलाइन्सलाई दिएको छैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्