सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

त्यो आतंककारी राँगालाई किन गोली हानियो ?

मासुका लागि तराई मधेसबाट ल्याइएको एउटा राँगोले राजधानी काठमाण्डौमा आतंक मच्चाएपछि मङ्गलबार बिहान प्रहरीले गोली हानेर मारेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले उक्त राँगो मारेको हो ।

राँगोले वितण्डा मच्चाउन थालेपछि नियन्त्रणमा लिन न्यूरोडको खिचापोखरीमा घेरा हालेर प्रहरीले मार्नुपरेको जनसेवाका प्रमुख डीएसपी बासु पाठकले जानकारी दिएका छन् ।

विष्णुमती करिडोर नजिकै राँगो काट्ने स्थान बधशाला छ । डीएसपी पाठकका अनुसार तराईबाट ल्याइएको राँगो विष्णुमती करिडोरबाट रन्थनिएर भागेको हुनुपर्छ । राँगो छट्पटिएर भाग्ने क्रममा तीन जना सामान्य घाइते समेत भएका छन् भने एक ट्याक्सीमा समेत क्षति पुगेको छ ।

प्रहरीका अनुसार नजिकिँदै गरेको दशैंको लागि राँगो तराईबाट काठमाडौं ल्याइएको हो । यसअघि पनि काठमाडौँमा राँगाले वितण्डा मच्चाउँदै आएका थिए । २०७५ फागुन ११ गते राँगोले वितण्डा मच्चाउँदा चन्द्रागिरी नगरपालिकामा २ जनाको मृत्यु भएको थियो ।

त्यसबेला आक्रमण गर्ने राँगोलाई प्रहरीले दहचोक पुर्याएर मारेको थियो । त्यो बेलामा राँगोको आक्रमणबाट ७० वर्षीय मानवीर महर्जनको घटनास्थलमै मृत्यु भएको थियो भने नायब सुब्बा सानुकान्छा श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको थियो ।

buffello Rago

यस्तै २०७१ मंसिर १५ गते राजधानीको बुद्धनगरस्थित हृयाम्स अस्पताल भित्र भैंसी पसेर वितण्डा मच्चाएको थियो । २ घण्टासम्म पनि भैंसीलाई समात्न नसकेपछि प्रहरीले भैसीलाई गोली हान्नु परेको थियो । त्यतिबेला अस्पतालभित्रै भैंसी दौडिएर ओपीडी कक्षमा प्रवेश गरेपछि बिरामी र कुरुवाहरुको भागाभाग भएको थियो ।

यस्तै २०७३ असार ९ गते एउटा राँगो त्रिपुरेश्वरबाट मच्चिँदै सुन्धारातर्फ दौडियो । राँगो अनियन्त्रित तबरले भागेको देखेपछि पैदलयात्रीहरुको भागाभाग नै भएको थियो । त्यतिबेला एक दर्जनभन्दा बढी पैदलयात्रुलाई राँगोले हानेर घाइते बनाएको थियो ।

किन हुन्छ बेलाबेला काठमाण्डौमा राँगो आतङ्क ?
काठमाडौँमा मासुको प्रयोगका लागि उपत्यका बाहिरबाट दैनिक जसो रागाँ भैसी ल्याउने गरिन्छ । प्रहरीका अनुसार थानकोट नाकाबाट मात्रै दैनिक १०० वटा भन्दा बढि राँगा भैसी उपत्यका भित्रिने गर्छन् ।

दशैंको बेला तराइबाट अन्दाजी १५ वटा ट्रकभन्दा बढीमा राँगाभैसी भित्रिने र अरुबेला ८, ९ वटा ट्रकमा दैनिक राँगा भैसी भित्रिने गरेको महानगरीय प्रहरी प्रभाग नाङढुङ्गाका प्रमुख इन्सपेक्टर ज्ञानबहादुर खड्काले बताएका छन् ।

इन्सपेक्टर खड्काले भने–‘एउटा ट्रकमा १६, १७ वटा राँगा भैसी अट्ने गर्छ । सोही आधारमा दशैंको बेला २५० वटा राँगा भैसी उपत्यकामा भित्रिने गर्छ । अरुबेला १०० वटाभन्दा बढी भित्रिने गर्छ ।’

ट्रकमा कोचेर जथाभावी रुपमा ल्याइने राँगा भैसी कालिमाटीस्थित विष्णुमति करिडोरमा ल्याएर झारिन्छ । झार्ने क्रममा ति रागा भैसी भाग्न खोज्छन् । तराइदेखि रन्थनिएर आएको राँगो शहर पसेपछि आतंक मच्चाउने गरेको व्यापारीहरु बताउँछन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्