सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा एकैदिन कोरोना संक्रमित ६० हजार माथी

जापानमा पछिल्लो समय कोरोना संक्रमण दर आक्रामक रुपमा बढ्दै गएको छ । यसअघिका कोरोनाका लहरहरुको आंशिक रुपमा नियन्त्रण गरेको जापानले यसपाली भने संक्रमण दर नियन्त्रणमा निकै कठिन भएको छ । मृत्युदर पहिले भन्दा न्युन रहे पनि संक्रमण दरको तथ्यांक हेर्ने हो भने चिन्ताको विषय बनेको छ ।

पछिल्ला केही दिन यता जापानमा कोरोना संक्रमित हुनेको संख्या दैनिक ५० हजार माथी कटिरहेको छ । मंगलबार मात्रै ६२ हजार भन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार मात्रै जापानभर कूल ६२ हजार ६ सय १३ जनामा कोरोना संक्रमण पूष्टि भएको छ । यो संख्या अघिल्लो दिन सोमबारको तुलनामा झन्डै १८ हजारले धेरै हो । जापानमा मंगलबार पहिलो पटक दैनिक कोरोना संक्रमण हुनेको संख्या ६० हजार माथि उक्लिएको हो ।

Corona Infected

मंगलबार राजधानी टोकियो लगायत देशका कैयौं प्रिफेक्चरहरुमा कोरोना संक्रमण दरले नयाँ कीर्तिमानी कायम गरेको छ । टोकियोमा मात्रै मंगलबार १२ हजार ८१३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्यसपछी ओसाकामा सबैभन्दा धेरै ८ हजार ६१२ जनामा संक्रमण पूष्टि भएको छ ।

त्यसैगरी खानागावामा ४ हजार १३१, आइचीमा ४ हजार १२०, फुकुओकामा ३ हजार ३८९, चिबामा २३ हजार २५१, साइतामामा ३ हजार १६६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

त्यसैगरी क्योटोमा १ हजार ६ सय २२ जना, होक्काइदोमा १ हजार ५ सय ३६ जना, शिजुओका १ हजार ३ सय ३६ जना, ओकिनावामा १ हजार १ सय ७५ जना र हिरोशिमामा एक हजार ९९ जनामा संक्रमण भएको पुष्टि भएको छ ।

मंगलबार ओसाका, क्योटो, ह्योगो, क्युशु लगायतका प्रिफेक्चरहरुमा दैनिक संक्रमण हुने दरले नयाँ उचाई कायम गरेको थियो । मंगलबार कोरोना संक्रमणका कारण जापानभर ३९ जनाको ज्यान गएको जापानको स्वास्थ्य तथा श्रम मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्