जापानमा एकैदिन ७० हजार बढीलाई कोरोना
यसअघिका कोरोनाका लहरहरुमा कडा अनुशासनका उपाय लागु गर्दै आंशिक रुपमा कोरोना संक्रमण दरलाई नियन्त्रण गरेको जापानलाई छैठौँ लहर ओमिक्रोन भेरियन्टको संक्रमणलाई नियन्त्रण गर्न भने हम्मेहम्मे परेको छ । बुधबार जापानमा कोरोना संक्रमित हुनेको संख्याले नयाँ किर्तिमानी कायम गरेको छ ।
बुधबार मात्रै जापानमा कोरोना संक्रमित हुनेको संख्या ७० हजार भन्दा माथी पुगेको छ । आक्रामक रुपमा फैलँदै गएको कोरोना संक्रमणलाई नियन्त्रण गर्न बिहिबार देखी थप गरिएका १८ प्रिफेक्चरसहित ३४ ओटा प्रिफेक्चरमा अर्धआपतकाल लागु हुँदैछ । राजधानी टोक्यो, ओकिनावा लगायतका १२ प्रिफेक्चरहरुमा यसअघि नै अर्धआपतकाल जारी गरिएको छ ।

बुधबार साँझ ७ बजेसम्मको तथ्यांक अनुसार जापानमा कुल ७१ हजार ६ सय ३५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बुधबार यो समाचार तयार पार्दासम्म टोक्योमा मात्रै १४ हजार ९६ जना संक्रमित भेटिएको पुष्टि भएको छ । त्यस्तै ओसाकामा पनि १० हजार हाराहारी संक्रमित भेटिएको पुष्टि भएको समाचारहरुमा उल्लेख गरिएको छ ।
कोरोना संक्रमण दरले आक्रामक रुप लिएसंगै जापानमा एम्बुलेन्स र अस्पतालको आपतकालीन सेवा लिन संक्रमितलाई कठिन भएको छ । अस्पतालहरुमा संक्रमितले बेड पाउन छाडेका छन् । उपचारमा समस्या देखिन थालेपछी संक्रमणको भयाबह अवस्था पैदा हुनसक्ने चिन्ताहरु पनि व्यक्त हुन थालेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्