सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सिके राउतविरुद्ध राज्यविप्लवको मुद्दा चलाउने तयारी

मधेस टुक्र्याउने भन्दै तराईमा बिखण्डनकारी क्रियाकलाप गर्दै आएका सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरी राज्य विप्लव विरुद्धको मुद्दा चलाउने तयारी गरेको छ । तराई बिभाजनको मार्गचित्र सहित स्वतन्त्र मधेस अभियान सञ्चालन गर्दै आएका राउतलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो ।

सिराहाका बासीन्दा राउत पछिल्लो समय जनकपुरमा डेरामा बसेर आफ्ना बिखण्डनकारी गतिविधि सञ्चालन गर्दै आएका थिए । माघ ५ गते सिराहाको लाहानमा भएको आमसभामा राउतले मधेस टुक्राउने भनि खुलेआम अभिव्यक्ति दिएपछी प्रहरीले उनलाई पक्राउ पुर्जी जारी गरेको थियो ।

सिराहा प्रहरीको पत्र अनुसार राउतलाई पक्राउ गरी सिराहा पठाईएको धनुषाका एसपी लालमणि आचार्यले बताएका छन । जनस्तरबाट उनीमाथि कडा कारबाहीको आवाज उठेपनि सिके राउत पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् । राउतविरुद्ध राज्य विप्लवको मुद्दा लगाउने तयारी स्वरुप काठमाडौंस्थित विशेष अदालत झिकाउने उच्च सुरक्षा अधिकारीहरुले बताएका छन ।

राउत विरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो तर उनी धरौटीमा छुटेका थिए । उल्लेखित राज्य विप्लवको अपराध वा उद्योग गरेको ठहरिए सो सम्बन्धि ऐन २०४६ अनुसार राउतलाई जन्मकैद वा १० वर्ष कैद सजाय हुनेछ ।

उनले राज्यद्रोह वा त्यसका लागि प्रोत्साहन गरेको प्रमाणित भए कम्तिमा दुई वर्षसम्म कैद सजाय हुनेछ । राज्यविरुद्धको अपराध ऐन अनुसार कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा उसलाई जन्म कैद हुने व्यवस्था छ ।

पक्राउ गर्नुपूर्व प्रहरीले राउतको ‘सञ्जाल’ बारे २६ पृष्ठको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा सिके राउतलाई बिखण्डनकारी गतिबिधि गर्न सघाउने ५३ जनाको सूची उल्लेख गरेको छ । राउतले मधेसलाई नेपालबाट अलग गराउनका लागि सैन्य संरचना समेत बनाउन लागेको प्रहरीको रिपोर्टमा उल्लेख गरिएको छ ।

यो पनि पढ्नलाई सिफारीस गरिएको छ ।

सैन्य दस्ता बनाउँदै सिके, रअ र कल्भसन यादव

फेसबुकबाट कमेन्ट गर्नुहोस्