सैन्य दस्ता बनाउँदै सिके, रअ र कल्भसन यादव
सीके राउतले स्वतन्त्र मधेशका लागि भन्दै सुरु गरेको अभियान अन्तर्गत पछिल्लो समय उनले सैन्य दस्ता पनि तयार गरिरहेको सूचना तथा केही सञ्चारमाध्यमले तस्बिर समेत सार्वजनिक गरिसकेका छन् । यस्ता गतिविधिलाई उच्च स्रोतले असामान्य भनेको छ ।
स्रोत भन्छ, ‘पूर्वी पाकिस्तान टुक्रिनुभन्दा पहिले पनि त्यहाँ यस्तै गतिविधि भएका थिए ।’ स्रोतका अनुसार तराईमा भइरहेका सैन्य गतिविधिहरु पाकिस्तानमा मुक्तिबाहिनीको शैलीमा भइरहेका छन् । रअले तराईलाई टुक्र्याउनका लागि बहालवाला तथा पूर्वसेनाका अधिकारीहरुसहित ठूलो संख्यामा सैन्य अभ्यास गराइरहेको छ ।
सबै ढंगले तराईलाई टुक्र्याउने वातावरण तयार पारेपछि पाकिस्तानकै शैलीमा तराईमा पनि सैन्य तालिम प्राप्त व्यक्तिहरुलाई खटाउने र अन्तत; स्वतन्त्र मधेशलाई मूर्तरुप दिने तयारीमा रअ लागेको स्रोतको दाबी छ ।
नेपाल टुक्र्याउन ‘रअ’का अधिकारीको सक्रियता
संविधान निर्माण पश्चात असन्तुष्ट तराई केन्द्रित दलहरुले लामो समयसम्म गरेको आन्दोलनमा भारत सरकार तथा भारतीय जासुसी संस्थाको संलग्नताका बारेमा भारतका कतिपय सञ्चारमाध्यमहरुले तथ्यगत सामग्री प्रस्तुत गरेपछि तराईलाई अस्थिर बनाउन रअको भूमिका रहेको विषय बाहिर आएको थियो ।
तर पाकिस्तानमा पक्राउ परेका यादवको पटक–पटकको तराई भ्रमण पछि स्वतन्त्र मधेश समर्थकहरुसँग भेटेको विषयले भने भारतले स्वतन्त्र मधेशका लागि लगानी गरिरहेको पुष्टि भएको छ । मधेश आन्दोलनमा रअको संलग्नताले भारतले आन्दोलनमार्फत नेपाल सरकारमा दबाब सिर्जना गरी स्वार्थ पूरा गराउन खोजेको जस्तो देखिए पनि उसको स्वार्थ स्वतन्त्र मधेशसँग पनि जोडिएको स्पष्ट हुन्छ ।
नेपालका विषयमा भारतीय विदेश मन्त्रालयबाट जारी हुने विज्ञप्तिहरु तथा भनाइहरुमा ‘भारत शान्त र समृद्ध नेपाल चाहन्छ’ भन्ने गरिएको छ । यससँग भारतको सुरक्षा पनि जोडिएको विषयलाई पटक–पटक उल्लेख गरेको देख्न सकिन्छ ।
तर नेपाललाई विखण्डन गर्ने योजनाका प्रमुख योजनाकार सीके राउतलाई भारतमा स्वागत गर्नु, उनको योजनालाई सहयोग गर्न रअका अधिकारी यादवलाई पटक–पटक तराईमा पठाएको पुष्टि हुनुले तराईमा स्वतन्त्र मधेशका लागि रअका चलखेलको विषय छताछुल्ल भएको छ ।
तराईमा रअको योजनाका बारेमा नेपाल सरकार वा सुरक्षा निकायले चासो व्यक्त गरेमा थप रहस्य पनि खुल्ने स्रोतको दाबी छ । यस विषयमा नेपाल सरकार, सुरक्षा निकाय वा नेपाली सुरक्षा संयन्त्रहरुले कसरी पहल गर्छन् त्यो भने हेर्न बााकी नै छ ।
पाकिस्तानमा पक्राउ परेका पटेल अर्थात कल्भसन यादव ?
१६ अप्रिल १९७० मा भारतमा जन्मिएका कल्भसन यादव मुम्बईका स्थानीय बासिन्दा हुन् । उनी सन् १९८७ मा नेशनल डिफेन्स एकेडेमीमा आबद्ध भएका थिए । त्यसपछि १९९१ मा उनले इन्डियन नेभिको इन्जिनियरिङ ब्राञ्चबाट आफ्नो सुरक्षा करिअर सुरु गरेका हुन् ।
यादवलाई पाकिस्तानी सुरक्षा निकायले बलचिस्तानबाट पक्राउ गरेपछि उनी आफैले भारतीय नेभिमा आबद्ध रहेको र पछि रअका लागि काम गरेको स्वीकार गरिसकेका छन् । यादवले आफू भारतीय संसद्मा भएको आतंकवादी हमलापछि रअका लागि सूचना संकलनमा लागेको जनाएका छन् ।
भारतीय जासुसी संस्था रअको ४१५५८ सिरियल नम्बरधारी यादव एल ९६३०७२२ नम्बरको भारतीय पासपोर्टसहित पाकिस्तानमा पक्राउ परेका हुन् । उनको कोड नाम ‘हुसेन मुबारक पटेल’ रहेको समेत पाकिस्तानी सुरक्षा निकायले पुष्टि गरिसकेको छ ।
उनले आफू सन् २००३ बाट रअमा आबद्ध भएको र पाकिस्तानको बलुचिस्तानमा आफ्नो अप्रेशन सञ्चालन गर्न इरानमा सानो व्यवसाय सुरु गरी बसेको र यस बीचमा नेपाल, श्रीलंका र बंगलादेश लगायतका मुलुकमा पनि जाने गरेको उनले जनाएको स्रोतहरुबाट बुझिएको छ ।
आफू विशेषगरी पाकिस्तानको बलुचिस्तान स्वतन्त्र बनाउने योजनाका लागि त्यहाँ खटिएको स्वीकार गरेको भिडियो क्लिप्स समेत पाकिस्तानी सुरक्षा निकायले सार्वजनिक गरेको छ । त्यहाँ बसेर उनले पाकिस्तानमा अस्थिरता कायम गर्ने जिम्मेवारी सम्हालेको खुलाएका छन् ।
उनै यादवले पक्राउ पर्नुभन्दा पहिले स्वतन्त्र मधेश अभियानलाई सहयोग गर्न कैयौँ पटक नेपालको तराई क्षेत्रमा भ्रमण गरेको बताएका छन् ।
नोटः यो खोजमुलक समाचार निमकान्त पाण्डे र वसन्त खड्काले स्वाभिमान डट कमका लागी लेख्नुभएको थियो ।
यो पनि पढ्नलाई सिफारीस गरिएको छ ।
सिके राउतलाई प्रयोग गर्दै नेपाल टुक्र्याउने तयारी (भाग–१)
पाकिस्तान र नेपाल टुक्र्याउने गेम प्लानका समानता (भाग–२)
फेसबुकबाट कमेन्ट गर्नुहोस्